अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

नेपाल र अमेरिकाबाट एकै दिन “टुसाएको गगन”को विमोचन

बिआरटीनेपाल २०७६ कार्तिक १९ गते ९:५२ मा प्रकाशित

हिजो २०७६ साल कार्तिक १६ गते नेपाल र अमेरिकामा एकैसाथ एकै समय आविष्कार भारती कृत् हाइकु-सेन्र्यु सङ्ग्रह “टुसाएको गगन”को लोकार्पण भएको छ । शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकमा ५२५ हाइकु एवम् सेन्र्यु रहेका छन् । यस सङ्ग्रहमा विष्णु बहादुर सिंह, कृष्ण बजगाईँ र दिनार रनादीको भूमिका रहेको छ ।

अमेरिकी डायस्पोरामा रहेर नेपाली मन हाइकुको मध्यमबाट पोखिएको यस पुस्तकलाई अमेरिकाको म्याडिसन सहरमा मदन पुरस्कार एवम् पद्मा श्री पुरस्कार पुरस्कृत नेपाली साहित्यकी एक नारी हस्ताक्षर उपन्यासकार निलम कार्की निहारिका, कवि दिनार ‘रनादी’, अप्सरा गिरी भारती, आभा भारती एवम् नेपाली अमेरिकन मैत्री सङ्घका अध्यक्ष अबिमन पसछेंबाट विमोचन भएको थियो । यस्तै काठमाण्डौंमा त्यही दिन वरिष्ठ साहित्यकार ठाकुर शर्माको सभापतित्वमा लेखका हजुरआमा चिरन भारती, वरिष्ठ कवि कणाद महर्षि, महाकाव्यकार द्वय बाजुराम पौडेल एवम् बुनू लामिछाने, कवि एवम् समीक्षक डा लेख निरौला, हाइकुकार कवि विष्णु बहादुर सिंह तथा वडा-७ का वडाध्यक्ष सुद्धकुमार डङ्गोलले विमोचन गर्नुभएको थियो ।

काठमाण्डौंको कार्यक्रम सञ्चालन तिलिस्मी प्रभासले काव्यिक शैलीमा गर्नुभएको थियो र बुनू लामिछानेले पनि काव्यिक शैलीको स्वागत मन्तव्य दिनुभएको थियो । यस पुस्तकका भूमिकाकार विष्णु बहादुर सिंहले “‘टुसाएको गगन’ सुन्दर चेतना, प्राकृतिक बिम्ब प्रचुर प्रयोग भएको अमेरिका बसेर नेपाली हाइकुको क्षेत्रमा गहकिलो योगदान” हो भन्नु भएको थियो । त्यस्तै डा लेख निरौलाले यस पुस्तकको समीक्षात्मक मन्तव्य दिँदै, “सुत्रात्मक, मन्त्र जस्ता भान हुने बिम्बपूर्ण रसिला हाइकु यस पुस्तकमा रहेको र ती हाइकुहरूले देशको माया, विकृति, संस्कृति, समाजको यथावत् चित्रण प्राकृतिक बिम्ब-प्रतीकका मध्यमबाट पस्केको छ” भन्नुभएको थियो । सभापति ठाकुर शर्माले “‘टुसाएको गगन’को शाश्वत पक्ष रहेको र दीर्घकालीन हाइकुहरू कवितात्मक, सुत्रात्मक, सान्दर्भिक र सुन्दर शैलीको रहेको” कुरा औँल्याउनु भएको थियो ।

अमेरिकामा विमोचन कार्यक्रम नेपाली अमेरिकन मैत्री सङ्घको १५औं साहित्य साँझ अन्तर्गत विजय मल्ल साहित्य पुरस्कारसँगै गरिएको थियो । मित्र पौडेलद्वारा सञ्चालित त्यस कार्यक्रममा दर्शक दिर्घाबाट क्रम रहित भएर बिमोचन पूर्व हाइकूकारका मन परेका दस हाइकु दर्शकले वाचन गरेका थिए । कवि तथा साहित्य सेवी दिनार ‘रनादी’ले “हाइकुको म्याडिसनमा बिस्तारै रस बस्दै गएको र यस पुस्तकमा रहेका उत्कृष्ट हाइकुको समायोजनले अझै हाइकु लेखन खारिँदै जाने” कुरा प्रष्ट्याउनु भएको थियो । त्यसै कार्यक्रममा प्रमुख अतिथि निलम कार्की निहारिकाले नेपाली साहित्याकाशको हिजो-आजमा प्रकाश पार्दै हाइजिन(हाइकूकार)लाई अन्य विधामा पनि कलम चलाउन आग्रह गर्नु भएको थियो । उहाँले म्याडिसन सँच्चैनै नेपाली साहित्यको निमित्त उर्वर भूमि भएको कुरा पनि दोहोर्‍याउनु भएको थियो ।

नेपालको विमोचन कार्यक्रममा मञ्चमा आसीन वरिष्ठ साहित्यकारसँगै कात्यायन, प्रध्युम्न जोशी, खगेन्द्र खोल्सघरे, विनय कुमार शर्मा नेपाल, राम प्रसाद पन्त, प्रमोद गिरी लगायत लगभग सय जना श्रोताहरू पनि उपस्थित हुनुहुन्थ्यो भने अमेरिकाको विमोचन कार्यक्रममा पनि कृष्ण प्रधान, राजेन्द्र अर्याल, सिता अर्याल तथा नाफाका सबै पूर्व अध्यक्षहरू कृष्ण सिजापति, श्रीधर रानाभाट, अयोध्या बाटाजू, पूर्ण श्रेष्ठ तथा सन्तोष लामिछाने लगायत लगभग सय जना साहित्य प्रेमी श्रोताहरूको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू