अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

नेपाल र युरोपियन युनियन बिच आर्थिक–व्यापारिक सम्बन्ध विस्तारमा जोड

बिआरटीनेपाल २०७६ कार्तिक १९ गते ९:४३ मा प्रकाशित

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग लागि महामहिम नेपाली राजदूत लोक बहादुर थापा बिच चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ ।

सो कार्यक्रममा राजदूत थापाले आफूले ती मुलुक र नेपाल बिच आर्थिक सम्बन्ध मजबुत बनाउन उच्च मनोबलका साथ काम गर्दै आएकोले चेम्बरको सुझावलाई आत्मसाथ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले आफूले नेपाली उत्पादन, लगानीका अवसरहरू तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसँग सम्पर्कमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा युरोपियन युनियनका लागि समेत राजदूत थापाले युरोपियन युनियनले प्रदान गरेको एभ्रिथिङ्ग वट आर्म (ईबीए) अन्तर्गत नेपाल जस्तो अल्पविकसित मूलकबाट विना भन्सार निर्यात गर्ने अवसरको प्रचुरतम फाइदा नेपाले लिनको लागि आफ्नो तर्फबाट प्रवर्द्धन कार्यमा रहने कटिबद्ध रहेको र ब्यबसायिक समुदायले समेत उत्पादनदेखि निकासी बजार तहसम्म वस्तु विकास र निकासीमा जोड दिनुपर्ने बताउनुभयो । साथै लगानी सुरक्षित गर्न ईयूका सदस्य राष्ट्रहरूसँग विप्पा र दोहोरो कर उन्मुक्ति सम्झौता क्रमशः तीव्रताका साथ गर्दै जानु पर्नेमा समेत जोड दिनुभयो ।

सो कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, उत्पादनमूलक उद्योग लगायतका क्षेत्रमा बेल्जियम, नेदरल्याण्ड तथा लक्जेम्बर्गबाट लगानी एवं प्रविधि भित्राउन कूटनीतिक पहल हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले विशेष गरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरूको प्रवर्द्धन गर्न आर्थिक कूटनीति सक्रिय हुनुपर्ने बताउनुभयो ।

सो भेटमा अध्यक्ष श्रेष्ठले औद्योगिक/व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान, पर्यटन मेला, एफ डी आई आकर्षण, ईयुका लगानीकर्तासँग नेपालका लगानीकर्ता बिच भेट, लगानी सम्भावना सम्बन्धी सूचना आदान प्रदान, नेपाली निर्यातकर्ताहरुको बजार विस्तार गर्न युरोपियन युनियनका सम्भाव्य आयात कर्तासँग अन्तरक्रिया गराउन पहल गर्ने, नेपालको चिया तथा कफी निर्यातको लागि त्यहाँका आयात कर्तासँग सम्बन्ध बढाउने, पर्यटन प्रवर्द्धन राजदूत थापाको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । नेपाली मौलिक पहिचान दिने उत्पादनहरूको प्रवर्द्धन गरी निर्यात बढाउन सके नेपालले नेदरल्याण्ड र बेल्जियमबाट निकै धेरै लाभ उठाउन सक्ने सुझाव चेम्बरको रहेको उहाँले बताउनुभयो ।

लगानी सम्मेलन पछि र एकद्धार प्रणाली पछि सम्भावना र सङ्ख्या बढेको छ । चेम्बरमा प्राप्त पछिल्लो तथ्याङ्क अनुसार सन् २०१८ मा नेदरल्याण्डसँग १,५८,५५,८२६ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ । जसमा नेपालमा नेदरल्याण्डबाट गत वर्ष सन् २०१८ मा १,९७,४४,२२८ अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट नेदरल्याण्डमा गत वर्ष सन् २०१८मा ३९,१८,४०२ अमेरिकी डलर बराबर निर्यात भएको छ ।

सन् २०१८मा बेल्जियमसँग १,८०,७५,५०८ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ भने नेपालमा बेल्यिमबाट गत वर्ष सन् २०१८मा २,०७,१५,८५५ अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट बेल्जियम सन् २०१८ मा २६,४०,३४७ अमेरिकी डलर बराबर निर्यात भएको छ ।

सन् २०१८मा लक्जम्बर्गसँग ४,४६,०७३ अमेरिकी डलर बराबर व्यापार घाटा रहेको छ भने नेपालमा लक्जम्बर्गबाट गत वर्ष सन् २०१८मा ४६,३२३ अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट लक्जम्बर्गमा सन् २०१८ मा १७,१५८ अमेरिकी डलर बराबर निर्यात भएको छ ।

प्रतिक्रिया