अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३६ | Colorodo: 09:51

अस्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवर्द्धनमा जोड दिइनु पर्ने

बिआरटीनेपाल २०७६ कार्तिक १९ गते ९:३४ मा प्रकाशित

नेपाल उद्योग परिसंघले अस्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि सहकार्य बढाउनु पर्नेमा सम्बन्धित देशमा कार्यभार सम्हाल्न जान लाग्नु भएका नेपाली राजदूतहरूसँग आग्रह गरेको छ ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पासँग कार्यभार सम्हाल्न जानु अघि अन्तरक्रिया गर्दै परिसंघले सफल कार्यकालको शुभकामना समेत दिएको हो ।

महामहिम राजदूतहरूसँगको अन्तर्क्रियामा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भन्नु भयो, “नेपाल उद्योग परिसंघले आर्थिक कूटनीतिलाई उच्च महत्त्व दिदैं आएको छ । देशको आर्थिक विकासको मेरुदण्ड मानिने लगानी तथा पर्यटन प्रवर्द्धनका लागि आर्थिक कूटनीतिमा अब्बल रहनु पर्छ भन्ने मान्यता राख्दै सरोकारवालहरूसँग परिसंघले निरन्तर संवाद तथा सहकार्य गरिरहेको छ ।”

नेपाललाई अन्तर्राष्ट्रिय लगानी गन्तव्यका रूपमा स्थापित गर्ने तथा लगानीका प्रमुख क्षेत्रहरू पूर्वाधार, जलविद्युत, पर्यटन, आधुनिक कृषि तथा सञ्चार प्रविधि लगायतका क्षेत्रमा लगानी तथा साझेदारी बढाउन सम्बन्धित देशको सरकार र लगानीकर्ताहरूसँग सम्बन्ध अझ विस्तार गर्न राजदूतावासहरूको थप सकृयता आवश्यक रहेकाले यसमा नवनियुक्त राजदूतहरूले भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि अध्यक्ष मोरले उल्लेख गर्नु भयो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले व्यावसायिक क्षेत्र तथा सङ्घसंस्थाहरू बिच संस्थागत सम्बन्ध विस्तार, लगानीकर्ताहरूको भ्रमण आदान–प्रदान तथा प्राविधिक शिक्षामा सहकार्य बढाएर दक्ष जनशक्ति निर्माणमा भूमिका खेल्ने कुरालाई प्राथमिकतामा राखेको जानकारी गराउनु भयो । राजदूत दाहालले नेपाली वस्तुहरूको निर्यात बढाउन राजदूतावासमा नेपाली वस्तुहरूको जानकारी सहजै प्रदान गर्ने व्यवस्था मिलाउने विषयलाई पनि आफूले ध्यानमा राखेको बताउनु भयो ।

स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पाले पनि स्पेनबाट नेपाल आउने पर्यटकको सङ्ख्या उल्लेख्य रहेको र यसलाई बढाउन थप पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक सम्बन्ध विस्तार गर्नेमा ध्यान दिने र यसमा परिसंघको सहकार्य महत्त्वपूर्ण रहेको बताउनु भयो । यसै गरी नेपाली वस्तु तथा उत्पादनको बजार तथा लगानी प्रवर्द्धन गर्ने र प्रविधि हस्तान्तरण लगायतका आर्थिक विषयमा पनि राजदूत द्वयले प्राथमिकताका साथ काम गर्ने विश्वास दिलाउनु भयो ।

सो अवसरमा परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार विकासमा देखिएको समस्या समाधान गर्न परिसंघले पूर्वाधार सम्मेलन गर्दै आएको जानकारी गराउँदै नेपालका लागि विकसित देशको लगानी र प्रविधि दुवैको उच्च महत्त्व रहेकाले दूतावासहरूले सक्रिय भूमिका निभाउनु पर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू