अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

बेलायतमा भ्रमण बर्ष सफल बनाउने पर्यटनमन्त्री भट्टराईको पहल

बिआरटीनेपाल २०७६ कार्तिक १९ गते ७:३० मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई विश्वभरका पर्यटन व्यवसायीहरुको एउटा कुम्भ मेला वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) मा भाग लिन बेलायत पुग्नुभएको छ । उहाँ यस समयमा नेपाल पर्यटन प्रवर्द्धन गर्न व्यस्त हुनुहुन्छ । लन्डनस्थित एक्सेल एक्जिबिसन सेन्टरमा सुरु वर्ल्ड ट्राभल मार्केटमा हिजो सहभागी हुनुभएको थियो ।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीसहित एक्सेल पुग्नुभएको मन्त्री भट्टराईले मेलाको पहिलो दिन नेपाली स्टलहरुमै बसेर अवलोकन तथा प्रचारप्रसार गरेको दूतावास स्रोतले जनाएको छ । उहाँले आयोजक संस्थालाई अन्तर्वार्ता दिंदै नेपाल पर्यटनबारे अवगत समेत गराउनुभएको थियो । उहाँले बेलायतीहरूलाई नेपाल भ्रमणको निम्तो पनि दिनुभएको छ । ४ देखि ६ नोभेम्बरसम्म चल्ने उक्त प्रदर्शनीमा विश्वका १८२ देशबाट ५ हजार बढी प्रदर्शनीकर्ता र ५१ हजार सहभागी छन् । यसमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाली पर्यटन व्यवसायीसमेत संलग्न रहेका छन् । उहाँले आजै लन्डनस्थित नेपाली दूतावासमा आयोजित पर्यटन प्रवर्द्धन साँझलाई सम्बोधन गर्नुहुनेछ ।

यसअघि मन्त्री भट्टराई एनआरएनए यूकेद्वारा आयोजित अन्तरक्रियामा सहभागी हुनुभएको थियो । कार्यक्रममा मन्त्रीले नेपाली विमानलाई युरोपमा उडान अनुमति दिन युरोपेली संघ (ईयू) सँग छलफल भइरहेको समेत जानकारी दिनुभएको थियो । मन्त्री भट्टराईले युरोपेली राष्ट्रमा रहेका नेपाली नियोगमार्फत् प्रतिबन्ध हटाउन कूटनीतिक प्रयास भइरहेको पनि बताउनुभयो ।

दुई वर्षअघि अन्तर्राट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) ले नेपाललाई कालो सूचीबाट हटाए पनि युरोपेली संघले सन् २०१३ मा नेपाली विमान सेवाहरुलाई लगाएको प्रतिबन्ध कायमै छ । कार्यक्रममा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आग्रह गर्दै यो अभियान एक वर्षमात्र नभई एक दशकसम्म निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । नेपाल भ्रमण वर्षमा नेपाल घुम्ने पर्यटक संख्या २० लाख पुर्याउने लक्ष्य सरकारको छ । पर्यटन मन्त्रीले यसै अभियानलाई सहयोग पुग्ने गरी तीनजना सद्भावना दूत तोक्ने समेत जनाइएको छ । बेलायतको उपल्लो सदन हाउस अफ लर्डसमा बिहीबार एक कार्यक्रमबीच सद्भावना दूत र बेलायती पर्वतारोही एवं पर्यटन व्यवसायीलाई सम्मान कार्यक्रम तय छ । बेलायतबाट गत वर्ष ६३ हजार ८६ बेलायती पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

लन्डनस्थित राजदूत सुवेदीले यस वर्ष ८० हजार र नेपाल भ्रमण वर्ष २०२० मा एक लाख बेलायती पर्यटक नेपाल भित्र्याइने दाबी गर्नुभयो । दूतावासबाट एकैदिन होम डेलिभरी भिसा सर्भिस, बेलायतमा पर्यटन प्रवर्द्धन र नेपालको राम्रो वातावरणले पर्यटक बढेका राजदूतको भनाइ छ । त्यस्तै लन्डन सहरमा चल्ने आइकोनिक रातो रंगका बसहरुमा नेपाल प्रवर्द्धन सामग्री राखेर प्रचार तीव्र पारिएको छ ।

हिजोदेखि नै ३ सातासम्म राता बसमा प्रवर्द्धन जारी राखिने बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्डले लन्डनमा दोस्रो पटक नेपाल भ्रमण वर्ष लक्षित यस्तो प्रभावकारी उपाय अपनाएको हो । विश्वकै सबैभन्दा बृहत पर्यटन मेला (वर्ल्ड ट्राभल मार्केट) मा भने बोर्डको पहिलो प्रयास हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू