अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०४ | Colorodo: 05:19

राम्रो काम गरे ५० वर्ष जनताको साथ, नगरे ५ वर्षपछि कांग्रेस छँदैछ – प्रचण्ड

बिआरटीनेपाल २०७६ कार्तिक १९ गते ७:१५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले पछिल्लो समय आफू सरकार र पार्टीको प्रचारक जस्तो भएको बताउनुभएको छ । विजयादशमी, तिहार, नेपाल सम्वत् ११४०, छठ, ल्होसार, क्रिसमस डे र मोहम्मद डेको अवसरमा नेकपा बाँकेले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई मंगलबार नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी कार्यक्रममा देशभर पुगेर नागरिकका गुनासा सुन्ने मौका पाएको बताउनुभयो ।

विभिन्न तह र तप्काबाट प्राप्त सुझाव र गुनासोहरु प्रधानमन्त्री र सचिवालयका वरिष्ठ नेतासँग राख्ने गरेको भन्दै प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रचारक हुन पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । इतिहासले आफूलाई विभिन्न कालखण्डमा महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै उहाँले अहिले प्रचारकको जिम्मेवारी पाएको बताउनुभएको हो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले ५ वर्ष राम्रो गरे ५० वर्षसम्म पनि जनताको साथ र समर्थन रहने तर, राम्रो काम गर्न नसके ५ वर्षपछि कांग्रेस सत्तामा आउने ठहर गर्नुभयो ।

उहाँले प्रदेश ५ को राजधानी बहुसङ्ख्यक जनतालाई पायक पर्ने स्थानमा हुने भन्दै यसबारेमा पार्टीभित्र सहमति भइसकेको जानकारी दिनुभयो । कार्यक्रममा पूर्व सभामुखसमेत रहनुभएकी नेकपा प्रदेश ५ कमिटीका अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा, नेकपाका केन्द्रीय सदस्य दिनेश यादव, बाँके जिल्ला सचिव अशोक कोइराला, नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला लगायतले शुभकामना व्यक्त गर्दै चियापानको राजनीतिले सहमतिको राजनीतिलाई बल पुग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू