अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४६ | Colorodo: 14:01

नारायणहिटी संग्रहालयमा ’डिनर र टुर प्याकेज’ गराउने तयारी

बिआरटीनेपाल २०७६ कार्तिक १७ गते ८:५३ मा प्रकाशित

नेपाल सरकारले नारायणहिटी संग्रहालयमा ’डिनर र टुर’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ’भिजिट नेपाल २०२०’का लागि भन्दै नारायणहिटी दरबारमा रहेको लमजुङ हलमा डिनरसहितको रात्रिकालीन टुर प्याकेज चलाउने योजना बनाएको हो।

साँझ पाँच बजेपछि सर्वसाधारणका लागि बन्द हुने नारायणहिटीमा ६ बजेदेखि ९ बजेसम्म पर्यटकलाई मनोरञ्जनसहित घुम्ने गन्तव्यका रुपमा विकास गर्ने योजना बनाउन छलफल अघि बढाइएको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार नारायणहिटीको यो लमजुङ हलमा रेस्टुरेन्ट हुनेछ। रेस्टुरेन्ट सरकारकै स्वामित्वमा रहने तर त्यसमा डिनर (खानेकुरा) आपूर्ति निजी क्षेत्रबाट हुनेछ।

दिनभर काठमाडौंमा घुमिसकेपछि पर्यटकलाई राति नारायणहिटी घुमाउने र त्यहाँ घुमाउँदै कथा पनि सुनाउनेगरी प्याकेज बनाउने योजना भइरहेको अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयको अहिलेसम्मको तयारीअनुसार नारायणहिटीमा एउटा प्याकेज बन्नेछ। यो प्याकेट पर्यटकलाई ट्राभल कम्पनीहरूले पनि बेच्न सक्नेछन्। यसमा सामान्य रिसेप्सन, सांस्कृतिक प्रदर्शन, खाना, राजतन्त्रकालीन इतिहास वर्णन र गणतन्त्र स्मारकको परिचयसम्म पाउने छन्।

सरकारले ल्याउने यो प्याकेजमा नारायणहिटीदेखि गणतन्त्र स्मारकसम्मको टुर छ। तर अहिले दरबारबाट स्मारकसम्म जाने बाटो बन्द छ। बीचमा नेपाली सेनाको ब्यारेक पर्छ जसले दरबार र स्मारको सिधा सञ्जाल तोडेको छ। बाटो नखुलेसम्मका लागि दरबारबाट स्मारकसम्म गाडीबाट लैजाने सरकारी योजना छ। बाटो खोल्न रक्षा मन्त्रालयसँग छलफल गरिने अधिकारीले बताउनुभयो ।

यो बाटो खुलेपछि राजाले चढ्ने गरेका गाडीहरू पनि प्रदर्शनीमा हुनेछन्। गाडी भएको क्षेत्रमा सानो संग्रहालय बनाउन सकिने सरकारी योजना छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू