अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

मृगौलाले राम्रो काम गरेन, प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ– प्रधानमन्त्री ओली 

बिआरटीनेपाल २०७६ कार्तिक १६ गते ६:५१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौलाले राम्रोसँग काम नगरेको बताउनुभएको छ । शनिवार बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्रीले मृगौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस र प्रत्यारोपण विकल्प भएको जानकारी गराउनुभयो । “मृगौलाले राम्रोसँग काम गर्न नसकेपछि शरीरमा पानी, क्रेटिनिन, युरिनजस्ता पदार्थको मात्रा बढेको छ । अब नियमित डायलासिस अथवा प्रत्यारोपण विकल्प छ, अहिलेचाहिँ नियमित डायलासिस नै गर्ने उहाँको कुरा छ,” प्रधानमन्त्रीले स्वास्थ्यका बारेमा गरेको ब्रिफ्रिङ उद्धृत गर्दै सचिवालय सदस्य झलनाथ खनालले भन्नुभयो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले केही रिपोर्ट आउन बाँकी रहेकाले नियमित डायलासिस अथवा प्रत्यारोपणको विकल्प रोजिने बताएका जानकारी दिनुभयो । खनालका अनुसार प्रधानमन्त्रीले नियमित डायलासिस नै गराउनुहुनेछ । प्रधानमन्त्रीको गत बुधबार ग्राण्डीमा पहिलो चरणको डायलासिस गरिएको थियो । बिहीबार दोस्रो चरणको डायलासिस गरिएपछि शनिबार या आइतबार तेस्रो चरणको डायलासिस गर्ने तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

१३ वर्षअघि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री त्यसयता नियमितजस्तो स्वास्थ्य जाँच गराइरहनुभएको छ । दुई महिनाअघि पनि प्रधानमन्त्री ओलीको सिङ्गापुरमा उपचार भएको थियो । प्लाज्मा फेरिससको माध्यमबाट शरीरमा जम्मा भएको एन्टीबडी नष्ट गरेर उहाँ २० भदौमा फर्किनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू