अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१७ | Colorodo: 06:32

कपिलवस्तुको कृष्णनगरमा लगाईएको कर्फ्यू हटाईयो

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते २२:५४ मा प्रकाशित

कपिलवस्तुको सीमावर्ती बजार कृष्णनगरमा अस्ती बिहिबारबाट लगाइएको कर्फ्यू आज बिहान ६ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यलयले विहानै विज्ञप्ति जारी गर्दै कर्फ्यू हटाएको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा भएको विवादले उग्ररुप लिएपछि स्थानीय प्रशासनले अस्ती विहान ११ बजेबाट कर्फ्यू लगाएको थियो । कफ्र्युका कारण हिजो दिनभर पनि बजार बन्द रह्यो । लक्ष्मीपूजाको मुर्ति सेलाउन प्रयोग भएको बाटोको विषयलाई लिएर स्थानीय हिन्दु र मुस्लिम समुदायबीच सुरु विवादले उग्ररुप लिएपछि प्रशासनले निशेधाज्ञा जारी गरेको थियो । कर्फ्यू उलंघन गरेको भन्दै प्रहरीले चलाएको गोली लागेर सुरज पाण्डेको मृत्यु भएको थियो ।

लक्ष्मीको मूर्ति विसर्जनका क्रममा बढेको विवादले अशान्त बनेको कृष्णनगरको जनजीवन स्थानीय प्रशासनसँग १० बुँदे सहमति भएपछि सहज बन्दै गएको छ । घटनामा मृत्यु भएका २२ वर्षे पाण्डेको शव बुझेर परिवारले शुक्रबार दाहसंस्कार गरेका छन् ।

प्रदेशसभा सदस्य वीरेन्द्रकुमार कनौडिया, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता र प्रदर्शनकारीका प्रतिनिधिबीच छलफल भई बिहीबार राति २ बजे स्थानीय प्रशासनसँग १० बुँदे सहमति बनेको हो । सहमतिपछि राति नै लक्ष्मीका १३ वटा मूर्ति पनि विसर्जन गरिएका छन् । घटनाका मुख्य दोषीलाई कारबाही गर्ने, मृतकको परिवारलाई क्षतिपूर्ति दिनेलगायत विषयमा सहमति भएको कनौडियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू