अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

राष्ट्रिय पोषण अभियान शुरु

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते ९:३१ मा प्रकाशित

सरकारले राष्ट्रिय पोषण अभियान शुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय पोषण अभियानको शुभारम्भ गर्नुभयो । जन्मेको ६ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले बलियो नेपाल नामक गैरसरकारी संस्थाले आजदेखि सो अभियानको शुरुवात गरेको हो । राष्ट्रिय योजना आयोगद्वारा कार्यान्वयनमा रहेको दोस्रो बहुक्षेत्रीय पोषण कार्ययोजना (२०१८–२०२२) लाई थप सहयोग पु¥याउने अभियानको उद्देश्य रहेको छ । बालबालिकालाई पोषणयुक्त, स्वच्छ, पोषिलो आहार उपलब्ध गराई उनीहरुको समग्र जीवनलाई स्वस्थ्य बनाउने र बालबालिकाका अभिभावकलाई समेत आफ्ना बालबालिकालाई कस्तो आहार खुवाउनुपर्छ ? भन्ने जानकारी दिने काम अभियानले गर्नेछ ।

पहिलो चरणमा प्रदेश नं ५ बाट कार्यान्वयन हुने र सबै प्रदेशमा क्रमशः लागू गर्दै जाने अभियानले जनाएको छ । अभियान सरकारी र निजी क्षेत्रको सहकार्य तथा विल एण्ड मिलिण्डा गेट्स फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने जनाइएको छ । नेपालमा पछिल्लो समय कुपोषणका कारण हुने पुड्कोपनमा उल्लेखनीय सुधार आउन सकेको छैन ।

पाँच वर्षमुनिका बालबालिकामा सन् २००१ मा पुड्कोपन ५५ प्रतिशत रहेकामा सन् २०१६ मा ३६ प्रतिशतमा झरेको थियो । सन् २०३० सम्ममा पुड्कोपन १५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यसैगरी प्रजनन उमेर समूहका २०–४९ उमेर समूहका ४८ प्रतिशत महिलाको २० वर्ष नपुग्दै विवाह हुने गर्दछ । सुत्केरी भएमा आमामध्ये ५० प्रतिशतले मात्र एक घण्टाभित्र शिशुलाई दूध चुसाउँछन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले अभियानको शुरुआत गर्दै नेपालले पोषणका क्षेत्रमा केही उपलब्धि हासिल गरे पनि अझै कुपोषणका कारण हुने विविध समस्यामा उल्लेखनीय सुधार आउन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू