अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

लक्ष्मी पूजाको रात स्वदेशी विद्युतले मुलुक झिलीमिली, भारतबाट आयात घट्यो

बिआरटीनेपाल २०७६ कार्तिक १० गते २२:१३ मा प्रकाशित

लक्ष्मी पूजाको दिन आइतवार राति स्वदेशी विजुलीले मुलुक झिलीमिली बनेको छ । आईतवार विद्युतको उच्च माग १ हजार ८९ मेगावाट पुगेको थियो । लक्ष्मीपूजाको दिन हिजो साँझ साढे ६ बजे पिक डिमाण्ड १ हजार ८९ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

गत वर्ष लक्ष्मी पूजाको दिनको पिक डिमाण्ड १ हजार १ सय ५ मेगावाट थियो । गत आर्थिक वर्षभरिको पिक डिमाण्ड १ हजार ३ सय २० मेगावाट थियो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहकका बाहेकको हो । औद्योगिक ग्राहकको विद्युत माग करिब ३ सय मेगावाट छ ।

यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकाको पिक डिमाण्ड ३ सय ३१ मेगावाट रेकर्ड गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको चुहावट नियन्त्रणमा चालिएका कदम, उपभोक्ताहरुले प्रयोगमा ल्याएका ऊर्जा कम खपत गर्ने बल्ब लगायतका विद्युतीय उपकरणहरु, गत वर्ष भन्दा यस वर्ष तिहार अघि परेकाले पिक डिमाण्ड नबढेको बताउनुभयो ।

प्राधिकरकणले आफ्ना विद्युत गृहहरुबाट ५ सय ४६ मेगावाट, निजी क्षेत्रका विद्युत गृहहरुबाट ४ सय ३६ मेगावाट र भारतबाट १ सय ७ मेगावाट नेट आयात गरी १ हजार ८९ मेगावाट विद्युत आपूर्ति गरेको जनाएको छ । यस वर्ष प्राधिकरणका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘३ ए’ तथा १४ मेगावाटको कुलेखानी तेस्रो र निजी क्षेत्रका केही जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा थपिएकाले भारतबाट आयात हुने परिमाण पनि घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू