अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

प्रजातान्त्रिक हकअधिकार सङ्कुचन गर्न खोजियो – सभापति देउवा

बिआरटीनेपाल २०७६ कार्तिक १० गते ६:४३ मा प्रकाशित

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक तरिकाबाटै निर्वाचित भए पनि प्रजातान्त्रिक हकअधिकारलाई सङ्कुचन गर्न खोजेको आरोप लगाउनुभएको छ । पार्टीको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो स्थापनाको ६६औँ स्थापना दिवसका अवसरमा आज काठमाण्डौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा र राष्ट्रिय एकता तथा अखण्डतालाई अक्षुण्ण राख्न तरुण दल र विद्यार्थीको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको बताउनुभयो ।

प्रजातन्त्रमा सबैभन्दा महत्वपूर्ण विषय विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, वाक स्वतन्त्रता, सम्पत्तिको हक, स्वाभिमानका साथ निर्धक्कसँग बाँच्न पाउनेलगायत हक भएपनि त्यसमा षडयन्त्र हुन लागेको उल्लेख गर्दै उहाँले त्यसविरुद्ध लड्न सम्पूर्ण युवा तरुणको भूमिका महत्वपूर्ण रहने ठहर गर्नुभयो ।

तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले मुलुकका सबै ठूला आन्दोलन काङ्ग्रेसकै नेतृत्वमा सफल भएको र नेपालको संविधान पनि काङ्ग्रेसकै नेतृत्वमा जारी भएको उल्लेख गर्दै कहीँ कतैबाट पनि संविधान मिच्ने काम भए त्यसविरुद्ध तरुण दल सडक आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङले मुलुकमा भ्रष्टाचार, अनियमितता र कालोबजारी बढेको र शान्ति सुरक्षा पनि प्रभावकारीरूपमा कायम हुन नसकेको भन्दै त्यसविरुद्ध तरुण दलले सशक्त आवाज उठाउने बताउनुभयो ।

कार्यक्रममा काङ्ग्रेसका शीर्ष नेता, केन्द्रीय सदस्यहरुका साथै पार्टी र तरुण दलका नेता कार्यकर्ताको ठूलो सङ्ख्यामा उपस्थिति थियो। तरुण दलको स्थापना विसं २०१० कात्तिक १० गते भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू