अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

अमलेखगन्ज– चितवन पेट्रोलियम पाइपलाइनको शिलान्यास

बिआरटीनेपाल २०७६ कार्तिक ९ गते ८:१९ मा प्रकाशित

मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको शिलान्यास गरिएको छ । शनिबार बाराको अमलेखगन्जमा भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमका प्रतिनिधिसहितको उपस्थितिमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुवै पाइपलाइन परियोजनाको शनिवार शिलान्यास गर्नुभयो ।

मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइनको विस्तार कार्य सँगसँगै हुनेछ । भारतको मोतिहारी हुँदै नेपालको लोथरसम्म कुल १३१ किलोमिटर ग्यास पाइपलाइन निर्माण र अमलेखगन्जबाट चितवनको लोथरसम्म करिब ६२ किलोमिटर पेट्रोलियम पाइपलाइन विस्तार हुने बताइएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्जिनियरिङ संस्थानले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन निर्माणमा ९ अर्ब ८६ करोड र मोतिहारी–चितवन ग्यास पाइपलाइनमा १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताउनुभयो । आयल निगमका नायब कार्यकारी निर्देशक शुशील भट्टराईले दोस्रो चरणको यो परियोजनाको लागत निगमले पाँच वर्षमै आफैंले उठाउने दाबी गर्दै काठमाडौं–निजगढ दु्रतमार्ग हुँदै पनि विस्तार गर्न अध्ययन सुरु भएको बताउनुभयो ।

चितवनको लोथरमा निगमले यसअघि नै २० विगाह जमिन खरिद गरी भन्डारण गर्ने लक्ष्य लिएको थियो । अमलेखगन्जदेखि हेटौंडासम्म कान्ति राजपथको किनारबाट र हेटौंडादेखि लोथरसम्म महेन्द्र राजमार्गको किनारै–किनार पाइपलाइन योजना रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू