अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

प्रधानमन्त्री ओलीद्धारा पाकिस्तानी राष्ट्रपति र बङ्गलादेशी प्रधानमन्त्रीसँग भेटवार्ता

बिआरटीनेपाल २०७६ कार्तिक ९ गते ८:१८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच शनिबार बाकु कङ्ग्रेस केन्द्र परिसरभित्र भेटवार्ता भएको छ । जारी असंलग्न अभियानको अठारौँ शिखर सम्मेलनका क्रममा उहाँहरुबीच भेटघाट भएको हो ।

भेटघाटमा ऊर्जा सहयोग, पारवहन सहयोगको सही उपयोग, व्यापारिक क्रियाकलापलाई गति दिनुपर्ने पक्षका साथै दुईपक्षीय सम्बन्ध र आपसी अभिरुचिका विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । दुई नेताबीच हाल अवरुद्ध भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रक्रिया र यसलाई पुनःआफ्नो मार्गमा ल्याउन नेपाल तथा बङ्गलादेशले संयुक्तरुपमा गर्नसक्ने कार्यका विषयमा पनि छलफल भएको थियो ।

यसैगरी बाकु कङ्ग्रेस केन्द्रमै प्रधानमन्त्री ओली र पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीबीच आजै भेटवार्ता भएको छ । भेटमा दुईपक्षीय चासोका विषयमा छलफल भएको छ । हिन्दू कुश हिमालयमा मौसम परिवर्तनले पारेको नकारात्मक प्रभाव, सार्कको अवरुद्ध प्रक्रिया र दुवै मुलुकले भोगेका विद्यमान तथा उदाउँदा चुनौतीका विषयमा उहाँहरुबीच छलफल भएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

पाकिस्तानका राष्ट्रपति तथा बङ्गलादेशका प्रधानमन्त्रीसँगको भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू