अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

राष्ट्रकवि घिमिरेलाई मदन शिला स्रष्टा सम्मान

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते ९:५६ मा प्रकाशित

राष्ट्रकवि माधव घिमिरेलाई विक्रम संवत् २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि १ लाख १ हजारसहित सम्मानपत्र रहेको छ । यसैगरी प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकालाई प्रदान गरेको छ । ती पुरस्कारको राशि ५० हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ ।

नेपाली साहित्यिक सम्मेलन दार्जीलिङको मुखपत्रका रुपमा त्रैमासिकरुपमा दियालो प्रकाशन हुँदै आएको छ । कार्यक्रममा ती पत्रिकाका सम्पादक डा. चन्द्रकुमार राई र प्रधान सम्पादक अच्युतरमण अधिकारी पुरस्कार तथा सम्मान ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रकवि घिमिरेले साहित्यकारलाई साहित्यका आँखीझ्यालबाट नियाल्न र राजनीतिक चस्माले नहेर्न आग्रह गर्नुभयो । शताब्दी पुरुष सत्यमोहन जोशीले ती व्यक्तित्वलाई पुरस्कार अर्पण गर्दै आफूले राष्ट्रकविबाट साहित्य रचना सिकेको स्मरण गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीले राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानले पुरस्कृत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू