अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

सामाजिक सुरक्षा योजनामा आवद्ध हुने समयावधी एक महिना थप

बिआरटीनेपाल २०७६ कार्तिक ७ गते ९:४७ मा प्रकाशित

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा रोजगारदाताले आवद्ध हुने समयावधी एक महिनाका लागि थपिएको छ । आज सामाजिक सुरक्षा कोषले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ठूलो संख्यामा रोजगारदाता तथा योगदानकर्ता सूचीकरण हुन बाँकी रहेको भन्दै सूचीकरण हुनका लागि एक महिनाको समयावधि थप गर्ने निर्णय भएको जनाएको हो ।

सूचीकरणका लागि दिएको समयको अन्तिम महिना असोजमा चाडपर्व पर्नगई लामो सार्वजनिक विदा हुँदा रोजगारदाता तथा योगदानकर्ता प्रभावित भएकाले समय थप गर्न लागिएको कोषले जनाएको छ । सूचीकृत हुने समयबारे राष्ट्रिय दैनिकमा सुचना प्रकाशित गर्ने कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिनुभयो ।

सरकारले देशमा काम गर्ने श्रमिक र रोजगारदाता दुवैलाई कोषका महत्वपूर्ण कार्यक्रमबाट समेट्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताउनुभयो । कोषको कार्यक्रममा सहभागी भएर सहयोग गर्न सबै रोजगारदातालाई उहाँले आग्रह गर्नुभयो । कोषको सूचीकरणमा नआउने प्रतिष्ठानलाई कानुनी कारवाही गर्ने मन्त्री विष्टले बताउनुभयो । कोषले जारी गरेको विज्ञप्तिमा सुरक्षा योजना अन्तर्गत हालसम्म आठ हजार आठ सय १८ रोजगारदाता र एक लाख नौ सय ६८ योगदानकर्ता सुचिकृत भएको जनाइएको छ भने सात करोड ६५ लाख बढी योगदान संकलन गरिएको दाबी गरिएको छ ।

गत साउन १ गतेबाट कार्यान्वयनमा आएको यो योजना कार्यान्वयण गर्न कोषमा सूचीकरण गराउने सन्दर्भमा काठमाडौं, पोखरा, बुटवल र विराटनगरमा कोष, रोजगारदाता र ट्रेड युनियनको त्रिपक्षीय सहभागितामा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको जनाइएको छ । सुरक्षा योजना अन्तर्गत कोषले यसै योजना अन्तर्गत दुर्घटनामा परेका केही कर्मचारीलाई एकमुष्ठ सुरक्षा भत्ता उपलव्ध गराउने प्रक्रिया सुरु गरेको पनि जनाएको छ । गत वर्षदेखि सञ्चालनमा आएको कोषले अहिलेसम्म तीन पटक रोजगारदाता कम्पनी र श्रमिकलाई सूचीकरणका लागि आह्वान गरिसकेको छ ।

यसअघि असोज मसान्तसम्म सूचीकरणको म्याद कोषले दिएको थियो । कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने व्यवस्था गरिएको छ । कोषले योगदानकर्तालाई शैक्षिक र घर कर्जा पनि व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू