अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

टर्की–रुसबीच कुर्दिस सेनालाई सिरियाको सीमाबाट पर राख्ने उद्देश्यसहित महत्वपूर्ण सहमति

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ९:२३ मा प्रकाशित

टर्की र रुसबीच कुर्दिस सेनालाई टर्कीसँग सिरियाको सीमावर्ती क्षेत्रबाट परै राख्ने उद्देश्यसहित महत्वपूर्ण सहमति भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दौगान र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच रुसको सोचीमा घन्टौं लामो छलफलपछि यो सहमति भएको हो ।

टर्कीले कुर्द लडाकूलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा अस्थायी युद्धविराम गरेपछि सहमतिको वातावरण बनेको थियो । सहमतिअनुसार टर्की र रुसले सीमाबाट कुर्दिस सेना फिर्ती प्रक्रियाको अनुगमन गर्नेछन् भने सीमामा कुर्दिस सेना उपस्थित नभएको क्षेत्रमा अर्को साताबाट संयुक्त गस्ती गर्नेछन् । टर्कीले आतंककारी भन्दै आएको कुर्दिस लडाकूले भने सहमतिप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।

सहमतिपछि सिरियामा पुनः आक्रमण गर्नु नपर्ने टर्कीले जनाएको छ । दुई हप्ताअघि अमेरिकाले उत्तरी सिरियाबाट आकस्मिकरुपमा आफ्ना सेना फिर्ता गरेपछि टर्कीले कुर्दलक्षित आक्रमण सुरु गरेको थियो । टर्कीले सिरियाका दुई सहरबीच १२० किलोमिटर लामो भाग आफ्नो नियन्त्रणमा लिएको छ । त्यसलाई सुरक्षित क्षेत्र बनाएर आफ्नो मुलुकमा रहेका २० लाख शरणार्थी बसाउने टर्कीको योजना छ । टर्कीले गरेको आक्रमणका कारण उत्तरपूर्वी सिरियाबाट एक लाख ७६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । सयौंको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू