अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

एएफसी फुटसल च्याम्पियनसीप– नेपाल ताजिकिस्तानसँग पराजित

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ९:०८ मा प्रकाशित

एएफसी फुटसल च्याम्पियनसिप छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । बुधबार भएको खेलमा नेपाल ताजिकिस्तानसँग ६–० गोलले पराजित भएको हो । पहिलो हाफमा ३– ० ले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो । सुरुआती समयदेखि निकै नै दबाबमा देखिएको नेपालले पहिलो हाफमा ताजिकिस्तानको पोस्टमा एक मात्र प्रहार गर्न सक्यो ।

ताजिकिस्तानका खेलाडीले बारम्बार नेपालको पोस्टमा आक्रमण गरिरहँदा गोलरक्षक सुमित कुमार आलेले केही उत्कृष्ट बचाउ गरेका थिए । तर दोस्रो हाफ सुरू भएको चार मिनेट नबित्दै ताजिकिस्तानका खेलाडीले थप तीन गोल गर्दा उनको स्थानमा अनिस श्रेष्ठ मैदान प्रवेश गरे ।

दोस्रो हाफको पहिलो मिनेटमा नै ताजिकिस्तानले गोल गर्दै नेपालमाथि ४–० को अग्रता बनायो । त्यसपछि चौथो मिनेटमा दुई गोल गर्यो । पहिलो हाफभन्दा दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेको नेपालले केही अवसरसमेत सिर्जना गरेको थियो । तर पाएको अवसरलाई नेपालले सही सदुपयोग गर्न सकेन ।

सेन्टर तथा दक्षिण एसियाली छनोटको समूह ए मा रहेको ताजिकिस्तानले ३ अंक जोडेको छ । यता खराब शुरुवात गरेको नेपालले आफ्नो दोस्रो खेल बिहीबार उज्वेकिस्तानसँग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू