अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

पशुपति आर्यघाटमा शव जलाउनेहरुको आन्दोलन फिर्ता, सेवा सुविधा बढाइयो

बिआरटीनेपाल २०७६ कार्तिक ६ गते ८:४० मा प्रकाशित

पशुपति क्षेत्र विकास कोषले आफ्ना मागको सम्बोधन गरेपछि आर्यघाटमा शव जलाउनेहरुले आन्दोलन फिर्ता लिएका छन् । कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेसँगै आन्दोलन फिर्ता लिइएको हो । सेवा केन्द्रका कर्मचारीहरुले सेवा सुविधा नबढाए बुधबार बिहानैबाट शवदाहलगायतका सबै काम ठप्प पार्ने चेतावनी दिएका थिए ।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच वार्ता पछि सेवा सुविधा वृद्धि गर्ने सहमति भएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताउनुभयो । उनीहरुका माग अनुसार एउटा शव जलाएवापत पाउने एक हजार २ सय रुपैयाँलाई बढाएर एक हजार ५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ बनाइएको ढकालले जानकारी दिनुभयो ।

यसका साथै अवकाशपछिको उपदान रकम पनि बढाइएको छ । अहिले पाउँदै आएको डेढ लाख रुपैयाँबाट बढाएर पाँच लाख रुपैयाँ पुर्याइने भएको छ । यस्तै दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको छ । यससँगै आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका हुन् ।
घाट सेवा केन्द्रका कर्मचारीहरुले सेवासुविधा नबढाए बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह, दाउरा ओसारपसार लगायतका सबै काम बन्द गर्ने चेतावनीसहितको सूचना नै टाँगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू