अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

संवैधानिक परिषदका निर्णय दलीय सहमतिका आधारमा गर्न काँग्रेसको सुझाब

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते ९:०६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संवैधानिक परिषद बैठकका निर्णय दलीय सहमतिका आधारमा गर्न सुझाव दिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने जनाएको हो । संवैधानिक आयोगमा गरिने नियुक्तिलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यस बारेमा सभापति देउवालाई अडान लिन सुझाब दिएको छ ।

बैठकले अनौपचारिक छलफल गरी सहमति पश्चात मात्र औपचारिक बैठक राख्दा राम्रो हुने सल्लाह दिएको छ । बैठकमा सभापति देउवाले हिजो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलका बारेमा समेत जानकारी गराउनुभएको थियो ।

यसैगरी बैठकमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवार तय गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भएको छ । काँग्रेसले उपनिर्वाचनमा पार्टीको उम्मेदवार टुङ्गो लगाउन र अन्य तयारीका लागि यही यहि ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु रमेश लेखक, डा मीनेन्द्र रिजाल लगायत उपस्थित थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू