अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

लेबनानका प्रमुख शहरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

बिआरटीनेपाल २०७६ कार्तिक ४ गते ८:०३ मा प्रकाशित

लेबनानमा विरोधकर्ताहरूले प्रमुख शहर र नगरमा भ्रष्टाचार र देशका सम्भ्रान्त शासकको शासनविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा मानिसहरू घन्टैपिच्छे सडकमा थपिएर सरकारविरुद्ध अहिलेसम्मकै सबभन्दा विशाल प्रदर्शन गरेका छन् ।

विरोधकर्ताहरूले सडकमा नाचगान गरेका थिए । उनीहरूले लेबनानको झण्डा फर्फराउँदै जनता सत्तालाई पल्टाउन चाहन्छन् भनेका थिए । बिहान युवाहरूले नीलो झोला बोकेर राजधानी बेरुतका सडकमा सफाइ गरेका थिए । अघिल्लो रात गरिएको विरोध प्रदर्शनमा भएका फोहर उनीहरूले उठाएका थिए ।

लेबनानमा विगत पाँच वर्षमा भएको यो सबभन्दा ठूलो स्वतःस्फुर्त प्रदर्शन हो । विरोध प्रदर्शन राजधानी बेरुतबाट अन्त पनि सरेको थियो । सत्तारूढ वर्गले दशकौंदेखि आफू आफूमा शक्ति बाँड्ने र सम्पत्ति थुपार्ने काम गरेको तर भग्न भइरहेको अर्थतन्त्र र थोत्रोपुरानो संरचनालाई सुधार्न खासै काम नगरेको भनी जनता लामो समयदेखि आक्रोशित छन् ।

आर्थिक संकट बढ्दै गएपछि खर्चकटौतीको उपायका रूपमा सरकारले नयाँ करको प्रस्ताव गरेकोले अहिलेको आन्दोलन चर्केको हो । विरोधमा देशका विभिन्न जाति र धर्ममा विभाजित मानिसहरू एकजुट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू