अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

गैर आवासीय नेपाली सङ्घको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक सम्पन्न

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते १०:२० मा प्रकाशित

श्रमिक कल्याणकारी कोषका लागी १ करोड ६ लाख रुपैयाँ प्रदान

गैर आवासीय नेपाली सङ्घको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकमा सदस्यहरूले वैदेशिक रोजगारीमा पीडितहरूलाई सहयोग गर्ने हेतुले स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । सङ्घका अध्यक्ष कुमार पन्तको प्रस्तावमा सङ्घका नवनिर्वाचित पदाधिकारी एवं सदस्यले सो रकम दिने घोषणा गरेका हुन् । स्मरण रहोस् यस कोषबाट एक निश्चित मापदण्डका आधारमा विदेशमा रोजगारीका दौरानमा पीडितहरूलाई सहयोग गर्दै आएको छ ।

आज सम्पन्न बैठकले १९ वटा एजेन्डामाथि बृहत् छलफल गरेको थियो । बैठकले यस अघि नै थालिएका कार्यक्रम र सुरु गरिएका पहलहरूलाई निरन्तरता दिँदै विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै पूर्वाधार विकाशका लागि रु १० अर्वको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्य योजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको छ ।

सङ्घको निर्वाचन विद्युतीय पद्दतीबाट प्रत्यक्ष मतदान मार्फत गर्न र निःशुल्क सदस्यता बारे अध्ययन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ र यस समितिमा महासचिव डा. हेमराज शर्मा, सचिव गौरी राज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहनु भएको छ । महासचिव डा. हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय समेत गरेको छ । विशेष महाधिवेशनले सङ्घको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ। सङ्घको काठमाडौँ स्थित सचिवालयलाई चुस्त बनाउन डा. हेमराज शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ।

संस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गरेको छ। आगामी २ वर्षका लागि मार्गचित्र कोर्न निकट भविष्यमा एक कार्यशालाको आयोजना गर्ने भएको छ।

सङ्घमा अब ५ विभाग
बैठकले ५ उपाध्यक्षहरूको नेतृत्वमा ५ विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मावकल्याण, व्यापार तथा लगानी, सिप, ज्ञान, र नबप्रवर्तन, नेपाल प्रवर्धन) निर्माण गर्ने र विभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरू र सम्बन्धित क्षेत्रका विज्ञहरूको रहने व्यवस्था गरेको छ। एनआरएनए फाउन्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउन्डेसन मार्फत एक द्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोस्रो विज्ञ सम्मेलन सन २०२० गर्ने निर्णय गरिएको छ । त्यस्तै सङ्घको आगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

सङ्घका संरक्षक परिषद् गठन
बैठकले गैर आवासीय नेपाली सङ्घको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । परिषद्मा प्रमुख संरक्षक डा. शेष घले र अन्य संरक्षकहरूमा पूर्व अध्यक्ष द्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक राम प्रताप थापा रहनु हुनेछ । बैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई सङ्घको उच्च बरीयतामा राख्ने समेत निर्णय गरेको छ ।

सल्लाहकार समिति गठन
आज बसेको बैठकले गैर आवासीय नेपाली सङ्घको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुल आचार्य (यु के), सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टी.बी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अस्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भण्डारी (अमेरिका) रहनुहुनेछ ।

बैठक अत्यन्त सौहार्धपुर्ण वातावरणमा भएको थियो र बैठकमा अव निर्वाचन सकिएको, चुनावको बेला बनिएका र गरिएका कुरा बिर्सिएर अवका दिनमा एक ढिक्का भएर अघि वढनु पर्ने कुरामा पूर्ण मतैक्यता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू