अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 10:04

नेपाल चेम्बर अफ कमर्स र भाइब्रेण्ट गोवा फाउन्डेसनबिच समझदारी पत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७६ असोज ३० गते ६:५२ मा प्रकाशित

नेपाल चेम्बर अफ कमर्सको भारतमा गएको प्रतिनिधिमण्डलका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले द्विपक्षीय व्यापार, लगानी, पर्यटन प्रवर्द्धन एवं आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भारतको भाइब्रेण्ट गोवा फाउन्डेसनका तर्फबाट सभापति राजकुमार कामत र नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठले आज गोवामा समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

भाइब्रेण्ट गोवा २०१९ को समुद्घाटन सत्र कार्यक्रममा प्रमुख अतिथि गोवाका मुख्य मन्त्री डा. प्रमोद सावन्तको समुपस्थितीमा भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो २०१९ को अवसरमा सम्पन्न सो समझदारी पत्रले आगामी दिनमा द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा दुवै पक्षले गरेका छन् । साथै व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्ने समेत समझदारी पत्रमा उल्लेख गरिएस्को छ ।

भाइब्रेण्ट गोवा फाउन्डेसनले भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एन्ड समिट २०१९ को आयोजना गरेको र यसमा भारतीय सरकार र गोवा सरकारको समेत सहभागिता रहेको छ । हालै हस्ताक्षर गरिएको समझदारी पत्रले दुई मुलुकबिच हुने अन्तरक्रिया, रोड सो, एक्स्पोमा सहभागिता लगायत पर्यटन प्रबद्र्धनमा जोड दिइएको छ । सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गर्नुका साथै पहाडी मुलुक नेपाल र समुन्द्री सतहसँग जोडिएको गोवा “फर्म ग्रिन टू ब्लू” बिच पर्यटन प्रवर्द्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्राउन सकिने सम्भावनामा जोड दिनुभयो ।

सो अवसरमा बोल्दै भाइब्रेन्ट गोवा फाउन्डेसनका सभापति राजकुमार कामतले यो समझदारी पत्रको कार्यान्वयनले अहिले चेम्बरको सहभागिता उल्लेख्य रहेकोले आगामी वर्षहरूमा यसमा अझ बढोत्तरी हुने र आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रवर्द्धनको लागि महत्त्वपूर्ण कार्य गरिने विश्वास व्यक्त गर्नुभयो ।

सो समझदारी पत्रमा दुई देशका चेम्बर बिच व्यापरीक सूचना, आदान प्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन प्रवर्द्धन, व्यापारिक/औद्योगिक प्रतिनिधि मण्डलको आदान प्रदान गरिने कुरा समेत उल्लेख गरिएको छ ।

३८ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरू, उद्यमी, व्यवसायीहरू, प्रदेश ५ का संसद् सदस्य माननीय भोज प्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू