अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३५ | Colorodo: 10:50

प्रहरीसँग महराको बयान– रोशनीको कोठामा गएकै हो, तर दुव्र्यवहार गरेको छैन

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:१७ मा प्रकाशित

यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू रोशनी शाहीको कोठामा गएको स्वीकार गर्नुभएको छ । एक उच्च प्रहरी अधिकारीले भनेका छन्, ‘‘उहाँले म गएको हो भनेर स्वीकार गर्नुभएको छ । महराजीले रोशनीको परिवारसँग पारिवारिक सम्बन्ध हो । कुनै प्रकारको दुव्र्यवहार गरेको छैन भन्नुभएको छ ।’’ तर, रोशनीले प्रहरीमा आफूमाथि महराले यौन दुव्र्यवहार गरेको भन्दै उजुरी दर्ता गरेकी थिइन् । महराले प्रहरीसँगको बयानमा आफूले रक्सीको बोतल समेत नलगेको दाबी गर्नुभएको छ ।

अदालतबाट म्याद लिएर प्रहरीले महरामाथि अनुसन्धान गरिरहेको छ । महरालाई काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न १३ दिनको समय मंगलबार दिएको थियो । यसअघि महराले आफू असोज १२ गते रोशनीको कोठामा नगएको दाबी गर्दै आउनुभएको थियो । महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ पर्नुभएको थियो । महराको स्वास्थ्यमा समस्या देखिएपछि उहाँको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । अस्पतालले डिस्चार्ज नगरेकाले उहाँलाई अदालतबाट अस्पतालमै फर्काईएको छ । महरामाथि संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर यौन दुव्र्यवहार गरेको आरोप छ । महराले सोही प्रकरणमा सभामुखको पदबाट समेत राजीनामा दिनुभएको थियो ।

महरा बा २० च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा जानुभएको थियो । प्रहरीले रोशनीको कोठाबाट महराको भनिएको चश्मा, जुत्ताको सोल लगायतका सामग्री बरामद गरेर फरेन्सिक चेकजाँचका लागि पठाएको छ । यस्तै रोशनीको शरीरमा लागेको चोटको समेत परीक्षण गरिएको छ । परीक्षणका क्रममा रोशनीको शरीरमा देखिएको चोट अन्य व्यक्तिबाट लागेको पाइएको छ ।

रोशनीले प्रहरीमा महराले दुव्र्यवहार गरेको उजुरी दिए पनि सामाजिक सञ्जालमा भने महरा निर्दोष भनेर पत्र, विज्ञप्ति जारी गर्दै आएकी छन् । तर, उनले दाबी गरेका पत्रहरु उनकै आधिकारिक हुन् भन्ने पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू