अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

एपिएफलाई क्रसकन्ट्री दौड २०१९ को उपाधि

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड २०१९ को उपाधि सशस्त्र प्रहरी बलले जितेको छ । पोखरामा बुधबार भएको उक्त प्रतियोगितामा सशस्त्रको टोलीले ४ घण्टा १७ मिनेट २२ सेकेण्डमा लक्ष्य भेटाएको हो । टोलीमा सन्तोषविक्रम विष्ट, गणेश ठकुरी र ईन्द्रकला नेम्वाङ सहभागी थिए ।

क्रस कन्ट्रीको ४२ किमी लामो दौडमा १९ किलोमिटर साइक्लिङ, १।९ किलोमिटर बोटिङ र बाँकी दौड समावेश गरिएको थियो । एपिएफले उपाधी जित्दा गुरिल्ला टेल टोली भने दोश्रो हुनपुग्यो । उसले ४ घण्टा १८ मिनेट २३ सेकेण्डमा दौड पूरा गरेको थियो । टोलीमा दुर्गाराज बुढा, रसिला तामाङ र दामोदर बुढा मगर सामेल थिए ।

तेश्रो भएको काइनेटिक नामक चिनियाँ टोलीले ४ घण्टा ५६ मिनेट २३ सेकेण्डमा दौड पूरा गरेको थियो । टोलीमा च्याङ यी, पेङ वाइ सु र लाइ युजुन सहभागी थिए । नेपाली अन्नपूर्ण टोलीका जीवन लामा, सौरभ राई र प्रतिभा श्रेष्ठले चौथो स्थान प्राप्त गरे । उनीहरुले ४ घण्टा ५६ मिनेट ४५ सेकेण्डमा दौड पूरा गरेका हुन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले क्रस–कन्ट्री दौडको उपाधिसँगै कुनमिङमा आयोजना हुने १०० किलोमिटरको क्रसकन्ट्री रेसमा सहभागिताको अवसर प्राप्त गरेको छ । नेपालीतर्फ चौथो हुने टोलीले पनि कुन्मिन क्रस–कन्ट्री दौडमा सहभागिता जनाउन पाउनेछ । प्रतियोगितामा चिनियाँ दुई टोलीसहित २७ वटा टिमको सहभागिता थियो ।

प्रतिक्रिया