अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

निवर्तमान सभामुख महरालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:४२ मा प्रकाशित

काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राख्ने अनुमति दिएको छ । जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।

सरकारी वकिल कार्यालयले पक्राउ परेको दिनदेखि लागू हुने गरी १३ दिन हिरासतमा राखेर महराबारे अनुसन्धान गर्न अनुमति दिन माग गरेको थियो। महरा दस दिन हिरासतमा बसिसक्नुभएको छ । महरा बिरामी भएकोले उहाँको बयान लिन नसकिएको र बयान लगायतका अनुसन्धानका लागि अझै तीन दिन हिरासतमा राख्नु पर्ने सरकारी वकिल उमाकान्त पौडेलले बहसका क्रममा बताउनुभएको थियो ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटा लगायतले महरालाई रिहा गर्नुपर्ने माग गर्दै बहस गर्नुभएको थियो । दसैं बिदा परेकोले आज मात्र महरालाई अदालत उपस्थित गराइएको हो। यता प्रहरीले महराविरूद्ध बलात्कार गर्न खोजेको आरोप लगाएकी कर्मचारीको कोठाबाट बरामद भएका महराका चस्मा, जुत्ताको तलुवा लगायतका सामग्री परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ। ल्याबको रिपोर्ट भने आउन बाँकी छ ।

असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुग्नुभएको थियो । त्यो रातको घटनाको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूलाई बलात्कार र हातपात गरेको बताएकी थिइन्। भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो।

प्रहरी उच्च स्रोतका अनुसार सो घटना भएको राति प्रहरी उनको डेरामा पुगेपछि पनि उनले महराले आफूलाई बलात्कार गर्ने प्रयास गरेको र शारीरिक हिंसा गरेको बताएकी थिइन्। शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको थियो। घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू