अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन शुरुः जन्मभूमिको विकासमा सहयोगी बन्न एनआरएनएलाई राष्ट्रपति भण्डारीको आग्रह

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:३८ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मभूमिको विकासमा सहयोगी बन्न गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई आग्रह गर्नुभएको छ । एनआरएनएको नवौं विश्व सम्मेलनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले एनआरएनएले विश्वमा नै सद्भावना दूतकारुपमा रहेर काम गर्नसक्ने भन्दै नेपालको आर्थिक विकासको साझेदार बन्न आग्रह गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले एनआरएनएले पुँजी र प्रविधि नेपालको आर्थिक विकासमा लगाउन आह्वान गर्नुभयो । उहाँले भ्रमण वर्ष २०२० सफल बनाउनका लागि पनि सहयोग गर्न एनआरएनएलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको विकासको चाहना पूरा गर्न एनआरएनएको आवश्यकता पर्ने भएकाले सरकार उनीहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । एनआरएनएले नेपालको हरेक दुःखमा साथ दिएको भन्दै ज्ञवालीले समृद्धिको यात्रामा ज्ञान र प्रविधिमार्फत् पनि साथ रहने विश्वास व्यक्त गर्नुभएको छ ।

‘म, मेरो एनआरएनए र मेरो नेपाल’ नारा रहेको सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । तीनदिने सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधि एवं अरु स्वदेशी–विदेशी गरी करिब दुई हजार ५०० को सहभागिता रहेको छ । यो वर्षको विश्व सम्मेलन पनि विगतमाझैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा संचालित छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू