अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४६ | Colorodo: 11:01

एनआरएनए पार्टीको पोल्टामा

डा. दुर्गा दाहाल, “अनुभव” २०७६ असोज २७ गते २०:१३ मा प्रकाशित

सम्प्रति, काठमान्डुमा विश्वभरिका नेपालीहरू भेला भएका छन् । NRNA नामक अन्तर्राष्ट्रिय सामाजिक संस्थामा आबद्ध नेपालीहरू बौद्ध स्थित ह्यात रिजेन्सी होटेल ( Hyatt Regebcy Hotel ) मा व्यग्रताका साथ यो संस्थाको महासम्मेलनले के दिन्छ र यसको आगामी दिशानिर्देश तथा घोषणापत्र कस्तो होला भनेर सहभागी भएका छन् ।

तर विडम्बना ! नेकपा र नेपाली काँग्रेसका राजनैतिक नेताहरूले उम्मेदवारहरूको चयन गरेका छन् र यो कुंभमेला पूर्णतः राजनैतिक नेताहरूको निर्देशन, आश्वासन र आशीर्वादमा सञ्चालित भएको देखिन्छ । मानौँ, नेकपा र नेपाली काँग्रेसको चुनाव भई रहेको छ । नेपालमा त यी पार्टीहरू विश्वविद्यालय देखि लिएर हरेक क्षेत्रमा राजनैतिक भागबन्डाको खेल खेलिनै रहेका थिए र अब आएर खुल्लम- खुल्ला रूपमा NRN मा पनि प्रवेश गरेर झोले संस्कृतिको विकास गर्ने भए ।

एनआरएनएका हाम्रा नेताहरू पनि पार्टी प्रतिनिधि रहेछन् भन्ने कुरा यस पटक पुनः प्रमाणित भयो । प्रवास/ विदेशबाट आउने बित्तिकै राजनैतिक शक्तिकेन्द्र हरूमा गई उम्मेदवारको सूचीमा आफ्नो नाम आवोस भनिकन बिन्ती- स्तुति आशीर्वाद आदि- इत्यादि सुरु भयो ।

प्रत्येक आप्रवासीहरूको पनि कुनै एउटा राजनैतिक पार्टी प्रति आस्था हुनु, साथ- सहयोग र समर्थन हुनु अस्वाभाविक हैन तर जब नेपाली राजनैतिक नेता, पार्टी र सरकारले राजनैतिक अधिकार दिएको छैन र एनआरएनएले उठाएका समयोचित र जायज मागहरूलाई सम्बोधन गरेको छैन र समझदारीमा आएका विषय र सन्दर्भलाई समेत पालना नगरेको अवस्थामा यसरी राजनैतिक रूपमा विभक्त हुनु शुभसंकेत कदापि हैन ।

मैले बुझेको रहेनछु शायद । एनआरएनए संभवत अराजनैतिक संस्था हैन रहेछ । यो सामाजिक संस्था पनि हैन रहेछ । यो त नेपालका राजनैतिक पार्टीहरूद्वारा पृष्ठ पोषित, राजनैतिक पार्टीहरूको भातृ- सङ्गठन रहेछ । त्यसैले हरेक पार्टीका विदेश स्थित पण्डितहरूको सल्लाह, निर्देशन र अनुमतिमा प्रतिनिधिहरूको चयन र निर्वाचन हुँदो रहेछ ।

यदि त्यसै हो भने हरेक पार्टीको चुनाव चिन्ह बोकेर उम्मेदवारी दिँदा उपयुक्त होला । हैन भने, मेरो विचारमा एनआरएनए स्वतन्त्र हुनु पर्छ । यसमा पार्टीको राजनैतिक हस्तक्षेप नभएर शुभकामना सन्देश नै पर्याप्त हुनेछ ।

NRNA का सामाजिक अभियन्ताहरूले प्रवास/ विदेशमा बसेर नेपालको राजनीति गर्नु हुन्न बरु राजनीतिमा व्यग्रता छ भने विदेशमा आर्जित सीप, ज्ञान, प्रतिभा, क्षमता, प्रविधि र धन- दौलत बोकी स्वदेश फर्किनु र नेपालको दिग्भ्रमित राजनीतिलाई सही बाटोमा निर्देशित गर्नु वाञ्छनीय देखिन्छ ।

यदि एनआरएनएको विधान, नीति/ नियम र आचार संहितालाई मान्ने हो भने अहिलेका एनआरएनएका नेता र नेपालका नेताहरूले अनियमित गरी रहेका छन् र एनआरएनएको भविष्यमाथि कुठाराघात गरी रहेका छन् ।

समयमै चेतना भया ! अस्तु !

(क्यालिफोर्निया निवासी प्रा . डा . दुर्गा दाहाल एनआरएनएका आजीवन सदस्य र यस अभियानका स्वतन्त्र बुद्धिजीवी हुनुहुन्छ )