अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 08:37

विश्व बैंकको प्रक्षेपणः आर्थिक वृद्धिदरमा दक्षिण एशिया पछाडि तर बंगलादेश र नेपाल अगाडि

बिआरटीनेपाल २०७६ असोज २७ गते ८:४८ मा प्रकाशित

विश्व बैंकले विश्व अर्थतन्त्रको सुस्त गतिको प्रभाव दक्षिण एशियामा पनि परेको जनाएको छ । जसका कारण दक्षिण एशिया सर्वा्धिक आर्थिक वृद्धिदर रहेको क्षेत्र अब नभएको पनि देखिएको छ । बैंकले सार्वजनिक गरेको दक्षिण एसियाली अर्थतन्त्र विशेष प्रतिवेदन ‘मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा दक्षिण एशियाको आर्थिक वृद्धिदर औसत र सम्भावित आर्थिक वृद्धिदरभन्दा कम रहेको देखिएको जनाएको छ । विश्व बैंकले सन् २०१९ मा दक्षिण एशियाको आर्थिक वृद्धिदर भने पूर्वअनुमानभन्दा १.१ प्रतिशतले घटेर ५.९ प्रतिशत कायम हुने बताएको हो ।

दक्षिण एशिया यस अवधिमा पूर्वी एशिया तथा प्रशान्त क्षेत्रभन्दा पछि परेको हो । आर्थिक वृद्धिको हिसाबमा दक्षिण एशियामा भने बंगलादेश शीर्षस्थानमा रहेको छ । विश्व बैंकका अनुसार यसवर्ष नेपाल र बंगलादेशको आर्थिक वृद्धिदर सन्तोषजनक हुने प्रक्षेपण गरिएको छ । सो प्रक्षेपणमा बंगलादेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर २०१९ मा ८.१ प्रतिशत हुने जनाइएको छ । सन् २०१८ मा बंगलादेशको ७.९ प्रतिशत जीडीपी रहेको थियो । नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने प्रक्षेपण बैंकको छ ।

प्रतिवेदनका अनुसार नेपाल र बंगलादेशबाहेक अन्य देश पछिल्लो ५ वर्षको औसतभन्दा कम रहेको देखिएको छ । ती देशको आर्थिक वृद्धिदर आगामी वर्षको प्रक्षेपित दरभन्दा कम छन् । नेपालमा यो आर्थिक वर्ष र आगामी वर्षको औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत कायम रहने छ । पर्यटकको वृद्धि तथा सार्वजनिक खर्चमा भएको सुधारले आर्थिक वृद्धिदर सकारात्मक रहने बताइएको छ । यसैगरी सेवा र निर्माण क्षेत्रमा बढेका गतिविधिका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदरलाई निकै सहयोग पुग्ने विश्व बैंकले जनाएको छ ।

सन् २०१९ मा बंगलादेश र नेपालपछि भारतको वृद्धिदर ६ प्रतिशत रहने प्रक्षेपण छ । त्यसपछि माल्दिभ्सको ५.२, भुटानको ५, पाकिस्तानको ३.३, श्रीलंकाको २.७ र सबैभन्दा कम अफगानिस्तानको २.५ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण गरिएको छ । नेपालको आर्थिक वृद्धिदर आगामी वर्षमा भने घट्दै जाने प्रक्षेपण पनि विश्व बैंकको छ ।

प्रतिवेदनमा सन् २०२० मा ६.४ कायम हुने नेपालको आर्थिक वृद्धिदर २०२१ मा सामान्य रुपमा बढेर ६.५ पुग्ने अनुमान गरिएको छ । सन् २०२० मा भने दक्षिण एशियामा भुटानले सबै देशलाई उछिन्ने बताइएको छ । अर्को वर्ष भारतले सबैलाई पछि पार्ने विश्व बैंकको आँकलन छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू