अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४६ | Colorodo: 00:01

चिनियाँ राष्ट्रपतिको भ्रमणबारे ओली / प्रचण्डद्वारा समीक्षा

बिआरटीनेपाल २०७६ असोज २७ गते ८:०० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको समीक्षा गर्नुभएको छ । सी भ्रमणको थप समीक्षा र पार्टी एकता लगायतका कामको टुंगो लगाउन सचिवालय बैठक बोलाउनेबारे पनि दुवैबीच छलफल भएको बताइएको छ। तर, सचिवालय बैठक बस्ने मिति निश्चित भइसकेको छैन।

ओली र प्रचण्डले सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रपति सीले गरेको नेपालको राजकीय भ्रमणको समीक्षा गर्नुभएको हो । चीनबाट राष्ट्रपतिस्तरमा २३ वर्षपछि भएको भ्रमण भव्य भएको दुवै नेताको निष्कर्ष रहेको बालुवाटार स्रोतले बताएको छ। दुई देशबीच भएका सन्धि, व्यवस्थापन र सुरक्षाका दृष्टिले पनि सीको भ्रमण सफल रहेको दुवै नेताको समीक्षा छ।

सी भ्रमणको थप समीक्षा गर्न नेकपाले सचिवालय बैठक बोलाउने भएको छ । सीको भ्रमण र पार्टीका एकताका बाँकी काम सम्पन्न गर्न पनि सचिवालय बैठक छिट्टै बोलाउनेबारे दुवै अध्यक्षबीच छलफल भएको बताइएको छ। तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भएपछिको एकता प्रक्रिया टुंगो लागेको छ।

नेकपाले लेखा परीक्षण आयोग, केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग लगायतका केन्द्रीय आयोग गठन र एकता गर्न बाँकी रहेको छ। अबको सचिवालय बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा नियक्ति प्रक्रियाबारे पनि छलफल हुने बालुवाटार स्रोतले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू