अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१९ | Colorodo: 16:34

एनआरएनए नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरू हुँदै, अध्यक्षमा पन्त र आचार्यबीच प्रतिष्पर्धा हुने

बिआरटीनेपाल २०७६ असोज २७ गते ७:५३ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरू हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सम्मेलन बिहीबारसम्म चल्नेछ। अध्यक्षसहित १२ पदका लागि ४२ जनाले उम्मेदवारी दिने भएका छन्। नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुनेछ। ८१ देशबाट करिब २ हजार पाँच ५ जना प्रतिनिधि सम्मेलनमा सहभागी हुँदैछन्।

अध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य मैदानमा उत्रनुहुने भएको छ । आचार्यले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसमेत घोषणा गर्नुभएको छ । उहाँले उपाध्यक्षमा केशव पौडेल, नरेन्द्र भाट, रविना थापा र मन केसीलाई समेट्नुभएको छ । विधानअनुसार एक महिलासहित ५उपाध्यक्ष रहने व्यवस्था छ। आचार्यको प्यानलबाट महासचिवमा जानकी गुरूङ र कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्वारी पेश गर्नुभएको छ ।

पर्वत घर भएका आचार्य हाल बेलायतको लण्डनमा बस्नुहुन्छ । होलिकाउ ग्रुपका सञ्चालक रहेका आचार्यले बेलायतका विभिन्न सहरमा कम्पनीका ९ वटा शाखा खोल्नुभएको छ । जहाँ दक्षिण एसियाली स्वादका खानाका परिकार पाइन्छ । आफ्नो कम्पनीमा नेपालीहरूलाई रोजगारीमा प्राथमिकता दिएको बताउने आचार्य एनआरएनए युके सदस्य, उपाध्यक्ष, अध्यक्ष, युरोप संयोजक हुँदै हाल उपाध्यक्ष हुनुहुन्छ । सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा आचार्यले एनआरएनए राजनीति गर्ने थलो नभएको बताए।

एनआरएनको अध्यक्षमा आचार्यसँग प्रतिस्पर्धामा कुमार पन्त रहनुभएको छ । सन् २००३ सालमा उपेन्द्र महतोको नेतृत्वमा गठन भएको एनआरएनएमा उहाँ स्थापनाकालदेखि नै सक्रिय हुनुहुनछ । पन्तले आफ्नो तर्फबाट प्यानल घोषणा गरिसक्नुभएको छैन । यसअघि पन्त दोहोर्याएर उपाध्यक्ष बन्नुभएको थियो । पन्त गोरखा फुजेलका हुनुहुन्छ । होटल व्यवसायमा संलग्न पन्तको अहिले जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्डमा गरी २९ वटा होटल छन्। सन् २००९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्, २०११ मा युरोप क्षेत्रको संयोजकमा निर्वाचित उहाँ २०१३ देखि १५ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को महासचिव बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू