अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बिचमा आएको महसुस हुन्छ : अध्यक्ष दाहाल

बिआरटीनेपाल २०७६ असोज २६ गते ११:५७ मा प्रकाशित

काठमाडौँ, २६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काङ्ग्रेसको कार्यक्रममा आउँदा सहयात्रीकै बिचमा आएको महसुस हुने गरेको बताउनुभएको छ ।

काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले काङ्ग्रेसलाई आफूले नेपालको परिवर्तनको सहयात्री दलका रूपमा लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हेर्दै जाउँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ, मलाई विश्वास छ, हाम्रो सहयात्रा जारी रहनेछ । हाम्रो एकता र शान्तिप्रतिको सङ्कल्प जारी रहनेछ ।”

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुआत काङ्ग्रेसबाटै भएको बताउँदै उहाँले अहिले यो एउटा राष्ट्रिय राजनीतिक संस्कृति जस्तै गरी स्थापित भएको छ भन्नुभयो ।

“अहिले सबैले शुभकामना आदानप्रदान कार्यक्रम हाम्रो ऐतिहासिकता, संस्कृति र राजनीतिक सहकार्यको चरित्रलाई अक्षुण राख्ने माध्यम बन्न गएको छ”, अध्यक्ष दाहालले भन्नुभयो । राजनीतिमा असम्भव भन्ने कुरा केही नभएको उहाँको भनाइ थियो ।

“असम्भव देखिने कुरा पनि राजनीतिक पार्टी र नेतृत्वको सहकार्यद्वारा सम्भव बनाउने कुराको ठुलो दृष्टान्त पछिल्लो चरणमा काङ्ग्रेसका दिवङ्गत नेता गिरिजा प्रसाद कोइराला र मेरोबिचमा हस्ताक्षर भएको शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा सहकार्यको सहयात्राले प्रमाणित गरेको छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले यस प्रकारका शुभकामना आदानप्रदान गर्दै गर्दा त्यो महा अभियान, त्यति बेला लिएका सङ्कल्प र प्रतिबद्धता प्रति दृढ रहँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको राष्ट्रिय स्वाधीनता तथा जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्ने कुरा नै मुख्य हो भन्नुभयो ।

विसं २०३३ मा काङ्ग्रेस संस्थापक एवम् जन नायक विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह आयोजना गर्दै आएको छ । गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू