अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

एनआरएनए अन्तर्राष्ट्रिय पत्रकार पुरस्कारको घोषणा, सेजन र पत्रकार अर्याल सम्मानित

बिआरटीनेपाल २०७६ असोज २६ गते ९:३५ मा प्रकाशित

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ बेलायतको सकृयतामा स्थापना गरिएको यस वर्षको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार बेलायतमा सक्रिय पत्रकार ध्रुवराज अर्याल र नेपाल स्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।
गैर आवासीय नेपाली सङ्घका प्रवक्ता भूषण घिमिरेले शनिवार एक वक्तव्य जारी गरी एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९ पत्रकार अर्याल र सेजन लाई दिने घोषणा सार्वजनिक गरेका हुन् ।

१ लाख रुपियाँ राशिको एनआरएनए पत्रकारिता पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एक एक जना पत्रकार वा संस्थालाई प्रदान गरिँदै आएको छ ।

यस वर्ष नेपालबाहिरबाट बेलायतमा सक्रिय पत्रकार अर्याल एवम् नेपालबाट आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई दिइने भएको हो ।

पुरस्कारका लागि छनोटमा परेका पत्रकार अर्यालले पछिल्लो एक दशकदेखि बेलायतमा रहेर पनि सक्रिय रूपमा पत्रकारिता गर्दै आएका छन् । बेलायतबाट प्रकाशन हुने नेपाली पत्रमा उनी सम्पादक छन् ।

विगतमा एबिसी टेलिभिजन, नेपाली टिभी लगायतका मिडियामा रहेर पत्रकारिता गरेका उनले अहिले नेपालको राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टका लागि समेत काम गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जीवी खनालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफारिसअनुसार पुरस्कार विजेताको निर्णय गरिएको हो ।

घोषित एनआरएनए पत्रकारिता पुरस्कार काठमाडौँमा आयोजना हुने एनआरएनएको नवौँ विश्व सम्मेलनको समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रदान गरिने गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) का समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू