अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

इक्वेडरमा सरकारविरोधी प्रदर्शन हिंस्रक भएपछि सेना परिचालन

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:२५ मा प्रकाशित

इक्वेडरमा राज्यले इन्धनमा दिएको छुट हटाउने निर्णयपछि भड्किएको विरोध प्रदर्शनमा व्यापक हिंसा भएपछि राष्ट्रपति लेनिन मोरेनोले सेनालाई सडकमा उतार्नुभएको छ । मुकुण्डो लगाएका विरोधकर्ताहरूले एक टेलिभिजन स्टेसन, पत्रिका र महालेखापरीक्षकको कार्यालयमा शनिवार आक्रमण गरेर आगजनी गरेका छन् । आगजनीका कारण राजधानी क्विटोकोमा कालो धूवाँको बाक्लो मुश्लो फैलिएको थियो ।

त्यसको दुई घन्टापछि मुकुण्डो लगाएका कैयौं मानिसहरू निजी टेलिभिजन स्टेसन टेलिअमेजोनास पुगेर भुइँतल्लामा आगो लगाए अनि भवनभित्र पस्न खोजेका थिए । त्यहाँ लगभग २० कर्मचारी फसेका थिए । राष्ट्रपति मोरेनो राष्ट्रिय टेलिभिजनमा उपराष्ट्रपति र रक्षामन्त्रीका साथ देखिएर अपराह्न ३ बजेबाट सैन्य कर्फ्यु लगाउने घोषणा गर्नुभएको छ ।

उहाँले लागूऔषध तस्कर, संगठित अपराधी र पूर्वराष्ट्रपति रफाएल कोरीयाका समर्थकहरूले हिंसा मच्चाएको आरोप लगाउनुभएको छ । मोरेनोले मुकुण्डो लगाएका विरोधकर्ताहरूको आदिवासी इक्वेडोरवासीहरूसँग कुनै सम्बन्ध नरहेको बताउनुभयो । ती आदिवासीहरूले इन्धनको मूल्य बढेकोमा एक हप्तादेखि विरोध गर्दै आएका थिए । अन्तर्राष्ट्रिय मुद्रा कोषले समर्थन गरेको खर्चकटौती प्याकेजअन्तर्गत इन्धनको मूल्य बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू