अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

कांग्रेस सांसद आलम निवासबाटै पक्राउ

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:२० मा प्रकाशित

नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले रौतहटस्थित उहाँकै निवासबाट आइतबार बिहान गिरफ्तार गरेको छ । २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा पोलेर मारेको आरोप आलममाथि छ ।

उहाँले भारतबाट केही मानिस भाडामा ल्याएर चुनावमा प्रयोग गर्नका लागि बम बनाउन लगाएको र बनाउने क्रममा बम पड्किएको थियो। बम बनाउने काममा केही नेपाली पनि सहभागी थिए। सो घटना लुकाउन आलमले घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पोलेको भन्दै दुई जना नेपालीको परिवारले आलमविरूद्ध जाहेरी दिएका थिए।

सोही पुरानो जाहेरीको आधारमा आलम पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । आलमलाई हिरासतमा लिई अनुसन्धान थालिएको एसपी खत्रीले बताउनुभयो । आइतबार सार्वजनिक बिदा परेकाले आलमलाई सोमबार सरकारी वकिलको कार्यालयसँग परामर्श गरी अदालतसँग हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान थालिने खत्रीको भनाई छ । आलम रौतहट – २ बाट प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू