अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३१ | Colorodo: 11:46

जापानमा शक्तिशाली आँधी, १८ जनाको मृत्यु, उद्धार तथा राहतका लागि सैनिक परिचालन

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:११ मा प्रकाशित

शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जापानमा कम्तिमा १८ जनाको ज्यान गएको छ। पछिल्लो ६० वर्ष यताकै शक्तिशाली आँधीका कारण जापानको जनजीवन प्रभावित भएको छ । स्थानीय समय अनुसार शनिबार बेलुका ७ बजे हागिबिस आँधी टोकियोबाट दक्षिण–पश्चिममा रहेको इजु प्रायद्विपको भूमिमा ठोक्किएको हो । आँधीका कारण मुसलधारे पानी परेको छ भने तीव्र गतिमा हावा चलेको छ । जसका कारण जापानका अधिकांश क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ ।

आँधीका कारण प्रभावित भएकाहरुको उद्धार तथा राहतका लागि जापानले सैनिक तथा उद्धारकर्मी परिचालन गरेको छ । कुल २७ हजार सैनिक तथा उद्धारकर्मी खटाइएको जनाइएको छ । हाल हागिबिस आँधी २२५ किलोमिटर प्रति घण्टाको गतिमा जापानको पूर्वी तटीय क्षेत्र तर्फ लागेको छ । आँधीको मार्गमा जापानको मुख्य आवादी क्षेत्र पर्छ । आँधीका कारण चार लाख भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको जापानको सञ्चार संस्था एनएचकेले उल्लेख गरेको छ ।

आँधी अति शक्तिशाली रहेकाले ७० लाख मानिसलाई घर छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । टोकियोमा मात्रै आधा मिटरसम्म पानी पर्न सक्ने जापानको मौसम विभागले जनाएको छ । आँधीका कारण हवाई तथा स्थल यातायात सेवा बन्द भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू