अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 14:32

चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फिर्ता, १८ वटा समझदारीपत्रमा हस्ताक्षर

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:०५ मा प्रकाशित

आफ्नो दुईदिने नेपाल भ्रमण सकेर चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्कनुभएको छ । नेपाली समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँ हिजो नेपाल आउनुभएको थियो । आज दिउँसो सवा २ बजेपछि राष्ट्रपति फिङ स्वदेश फर्कनुभएको हो । फर्कनुअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्नुभयो ।

सीको विदाइ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत उच्चपदस्थ अधिकारी सहभागी हुनुभएको थियो । विदाइमा साँस्कृतिक झाँकी प्रदर्शन गर्नुका साथै नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

बिहान भएको द्विपक्षीय छलफलमा नेपाल र चीन सरकारबीच आजै १८ वटा समझदारीपत्र र दुईवटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । चीनका राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा ती सहमतिमा हस्ताक्षर भएको थियो । दुई देशबीच भएका समझदारीमा नेपाल सरकार र चीन सरकारबीच सीमा व्यवस्थापन प्रणाली विकास गर्ने सहमति, नेपालको प्रशासन संयन्त्रको अभिवृद्धि गर्न सहकार्य गर्ने सहमति, आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगबारे नेपाल र चीनबीचको सन्धि, सगरमाथा संरक्षणका लागि नेपाल र चीनबीच सहकार्य गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच महत्वपूर्ण लगानी र सहकार्यमा उत्पादक क्षमता वृद्धि गर्ने सहमति, चीनको छेन्दुमा महावाणिज्य कार्यालय स्थापना गरिने, नेपालको भौतिक विकास एवं यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच चीन–नेपाल अन्तरसीमा रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने सहमति, काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच भगिनी सम्बन्ध कायम गर्ने सहमति, बुटवल उप–महानगरपालिका र चीनको सियान सिटीबीच भगिनी सम्बन्ध कायम गर्ने सहमति पनि भएको छ ।

स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासन केन्द्रबीच परम्परागत औषधि बनाउन सहकार्य गर्ने सहमति, गृह मन्त्रालय र चीनको आपतकाल व्यवस्थापन मन्त्रालयबीच प्राकृतिक प्रकोप न्यूनीकरण र नियन्त्रणका लागि सहकार्य गर्ने सहमति, चीनको सुप्रिम पिपल्स प्रोक्युरेटर र नेपालको महान्यायाधिवक्ता कार्यालयबीच सहकार्य, त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्युटको मुख्य कार्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सहमति, कागती, जुनार, सुन्तला लगायत अमिला फलफूल (साइट्र फ्रुट्स) चीनमा निर्यातका लागि नेपालको कृषि विभाग र चीनको भन्सार कार्यालयबीच सहकार्य, चीन र नेपालको उद्योग मन्त्रालयबीच व्यापारका लागि संयुक्त कार्यदल स्थापना गर्ने सहमति, नेपालमा भूकम्पपछि चीनको सहायतामा निर्माण भइरहेका परियोजनाहरुको हस्तान्तरण र स्वीकृति प्रमाणपत्र दिने सहमति भएको छ ।

यस्तै नेपालको अर्थ मन्त्रालय र चीनको अर्थ मन्त्रालयबीच लगानी सहयोग कार्य समूहको स्थापना गर्ने सहमति, नेपालको अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास एजेन्सीबीच सुरुङ मार्ग निर्माणमा सहकार्य गर्ने सहमति, सीमा सुरक्षाका लागि आवश्यक सामाग्री र कार्यालय व्यवस्थापनका लागि आवश्यक उपकरणसम्बन्धी लेटर अफ एक्सचेन्ज, नेपालको काठमाडौं उपत्यकामा चीन सहायता नगरपालिकाबाट पानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू