अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

नेपालबाट ढिलो गरी मनसुन बाहिरियो

बिआरटीनेपाल २०७६ असोज २५ गते ९:२१ मा प्रकाशित

यस वर्षको मनसुन औसतभन्दा १९ दिन ढिलो गरी शनिबारबाट बाहिरिएको छ । यस वर्ष नेपालमा मनसुन ११५ दिनसम्म रहेको जल तथा मौसम बिज्ञान विभागले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर औसतमा असोज पहिलो साता (सेप्टेम्बर २३) बाहिरिने भए पनि विगत केही वर्षदेखि ढिलो गरी मनसुन बाहिरिने गरेको छ । यस वर्ष औसतभन्दा १० दिन ढिलो गरी जुन २० मा मनसुन प्रवेश भएको थियो । औसतमा पूर्वी नेपालमा १० जुनमा प्रवेश गरेको मनसुन काठमाडौंमा १२ जुनसम्ममा आइपुग्ने गरेको छ ।

महाशाखाको तथ्यांकअनुसार नेपालमा सन् १९७९ मा ७३ दिन मात्र मनसुनी वर्षा भएको थियो । सन् २००८ मा सबभन्दा बढी १३० दिन मनसुन रहेको थियो । सन् १९९६ मा औसत समयभन्दा करिब दुई साता अघि मे ३१ मै मनसुन प्रवेश भएको थियो भने सन् १९८२ मा सबभन्दा ढिलो जुन २७ मा मनसुन प्रवेश भएको महाशाखाले उल्लेख गरेको छ ।

सन् १९९५ मा औसत समयभन्दा तीन साता अघि नै सेप्टेम्बर २ मै मनसुन बाहिरिएको थियो भने सन् २०१३ मा औसत भन्दा करिब एक महिना पछि अक्टुबर १९ मा मनसुन बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू