अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने राजकीय भ्रमणका लागि नेपालमा

बिआरटीनेपाल २०७६ असोज २५ गते ९:०४ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउनुभएको छ । २ दिने राजकीय नेपाल भ्रमणका लागि सी एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं आउनुभएको हो । सी सवार एयर चाइनाको विशेष विमान अपरान्ह ४ः४७ मा अवतरण गरेको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले सीको स्वागत गर्नुभएको छ । यस्तै बिमास्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष, सरकारका मन्त्रीहरु तथा उच्च पदस्थ व्यक्तिहरुले उहाँलाइ स्वागत गर्नुभएको छ । चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा गार्ड अफ अनरको सम्मान प्रदान गरिएको छ ।

बिमानस्थलबाट सी सोल्टी होटल प्रस्थान जानुभएको थियो । सीले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्नुभएको छ । यसैगरी पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि उहाँले आजै भेटघाट गर्नुभएको छ ।

सी अहिले रात्रिभोजमा सहभागी हुनुभएको छ । हिजो भारतको यात्रामा निस्कनुभएका सी आज त्यहाँको भ्रमण सकाएर चेन्नईबाट नेपालका आउनुभएको हो । सीको स्वागतको लागि विमानस्थल तथा उनी बस्ने होटल सोल्टीसम्मको सडक दुवैतर्फ विशेष तवरबाट सिँगारिएको छ ।

चिनियाँ राष्ट्रप्रमुखको नेपालमा औपचारिक भ्रमण हुन लागेको यो २३ वर्षमा पहिलो अवसर हो । यसलाई विशेषरुपमा लिँदै नेपाल सरकारले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरको आतिथ्यता प्रदान गर्ने तयारी समेत गरेको छ । यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गर्नुभएको थियो । सी भोली १ बजे स्वदेश फर्कनुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू