अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

अनेसासको सबैभन्दा ठुलो पुरस्कार प्रा.डा. खगेन्द्र लुइटेललाई

बिआरटीनेपाल २०७६ असोज २५ गते ८:१३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा साहित्यको विकास र अन्तर्राष्ट्रिय करणका साथै अनेसासको बृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिहरूमध्ये एक जनालाई हरेक दुई वर्षमा प्रदान गर्दै आएको अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यस वर्ष त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेललाई प्रदान गर्ने भएको छ ।

सो पुरस्कारका निम्ति योग्य प्रतिभाको छनौटका लागि गत सेप्टेम्बर ९ मा बसेको बोर्ड अफ ट्रस्टिज कार्यसमितिको बैठकले पुरस्कार समितिको सिफारिसमा तीन सदस्यीय सर्वोत्कृष्ट प्रतिभा छनौट समितिको गठन गरी सो कामको जिम्मा दिएको थियो । सो समितिले उक्त पुरस्कारका लागि यही अक्टोबर ९ मा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको नाम सिफारिस गरेको हो ।

नेपाली भाषा साहित्यको विकासमा अनवरत रूपमा लागेर आप्रवासमा नेपाली भाषा साहित्यको विस्तार, संवर्धन र संरक्षणमा विशेष योगदान दिनाका साथै नेपाली भाषाको अन्तर्राष्ट्रिय करण र मानकीकरण गर्न वहाँले गरिरहनुभएको विशेष सक्रिय भूमिका एवं विशिष्ट योगदान तथा अनेसासको संस्थागत उन्नयन र विकासमा वहाँले विभिन्न रूपमा गर्नुभएको विशिष्ट भूमिका र योगदानको उच्च मूल्याङ्कन गरी वहाँलाई यस पटक यस पुरस्कारबाट पुरस्कृत गर्न सिफारिस गरेको कुरा सिफारिस समितिले उल्लेख गरेको छ ।

अमेरिकाको क्यालिफोर्निया निवासी राम लामा अविनाशीले प्रायोजन गर्नुभएको सो पुरस्कारको राशि हाल २५०० अमेरिकी डलर रहेको छ । यसअगि सन् २०१७ मा यो पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । त्यस बेला सो पुरस्कारको राशि २००० अमेरिकी डलर थियो ।

आगामी नोभेम्बर १० तारिकमा अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहका अवसरमा प्रा. डा. लुइटेललाई यो पुरस्कार प्रदान गरिनेछ । यो अनेसासबाट प्रदान गरिने हालसम्मको सबैभन्दा ठुलो राशिको पुरस्कार हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू