अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०८ | Colorodo: 01:23

चलचित्र वीर गणेशमान अमेरिकामा प्रदर्शन हुने

बिआरटीनेपाल २०७६ असोज २४ गते २१:०० मा प्रकाशित

सर्वोच्च नेता गणेशमान सिंहको जीवनमा आधारित चलचित्र “वीर गणेशमान“आउँदो नोभेम्बर १० तारिख देखि १७ तारिख सम्म अमेरिकाको विभिन्न सहरहरूमा प्रदर्शन गरिने भएको छ। नेपाली जनसम्पर्क समिति अमेरिकाको विभिन्न राज्यका च्याप्टरहरूले २०४६ सालको जनान्दोलनका सर्वोच्च कमान्डर, निष्ठा साहस त्यागका प्रतिमूर्ति, लोकतन्त्रका महान् सेनानी, लौह पुरुष गणेशमान सिंहको १०५औं जन्म जयन्तीको अवसर पारेर चलचित्र “वीर गणेशमान” अमेरिकामा प्रदर्शन गर्न लागेको कुरा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय महासचिव मुनीन्द्र नेम्बाङले जानकारी दिनुभएको छ ।

उक्त “वीर गणेशमान” चलचित्रको प्रदर्शन गर्ने कार्यक्रममा नेपाली काँग्रेसका प्रभावशाली नेता, पूर्व महा मन्त्री एवं नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री प्रकाश मान सिंह पनि उपस्थिति हुने कुराको खबर गणेशमान प्रतिष्ठानका सदस्य एवं काँग्रेस नेता श्री राजु राज जोशी मार्फत आफूले थाहा पाएको समेत महासचिव नेम्बाङले बताएका छन्। अमेरिकाको विभिन्न राज्यमा रहेका नेजस अमेरिकाको च्याप्टरहरूले चलचित्र “ वीर गणेशमान “को भव्य प्रदर्शन गर्ने तयारी सुरु गरेका छन् । जय अनुसार नेजस न्यु योर्क च्याप्टरले आउँदो नोभेम्बर १० तारिख आइतबारको दिन न्यु योर्क सहरको (Gulshan Terrace ) गुल्सन टेरेसको हलमा देखाउने बन्दोबस्त मिलाएको छ ।

मेरिल्यान्ड र भर्जिनिया च्याप्टरले भने संयुक्त रूपमा नोभेम्बरको १२ अथवा १३ तारिखको दिनमा मिति तय गरेर देखाउने भएका छन् । त्यस्तै नेजस फोर्ड वर्थ च्याप्टर डलासले नोभेम्बर १६ तारिख शनिवारको दिन टेक्ससको डलास सहरमा प्रदर्शन गर्नेछन्, भने क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा नर्दनकालिफोर्निया च्याप्टरले नोभेम्बर १७ तारिख आइतबारको दिन “ वीर गणेशमान “ चलचित्र भव्य रूपमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

एउटा वरिष्ठ राजनीति र लोकतान्त्रिक योद्धाको जीवनमा आधारित यस्ता चलचित्रले निरंकुशताको विरुद्ध लडेका इतिहासलाई जीवित राख्न र लोकतन्त्रको पक्षमा हमेसा लड्ने तागत हाम्रो धमनीमा भर्न ठुलो सहयोग पुर्‍याउने कुरा बताउँदै, महासचिव मुनीन्द्र नेम्बाङले निष्ठा साहस त्यागका प्रतिमूर्ति, फादर अफ डेमोक्रेसी, लौह पुरुष, सर्वोच्च नेताको जीवनमा आधारित यो ऐतिहासिक चलचित्र “ वीर गणेशमान “ लाई एक पटक हेरेर सम्मान प्रकट गरिदिनु हुनको लागि चलचित्र प्रदर्शन हुने एरियामा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू