अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१९ | Colorodo: 06:34

प्रधानमन्त्रीको सर्वपक्षीय छलफल– नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा समझौता हुने

बिआरटीनेपाल २०७६ असोज २३ गते ९:१२ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारसँग बालुवाटारमा सर्वपक्षीय छलफल गर्नुभएको छ । सी जिनपिङले यही असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।

छलफलमा सरकारको तर्फबाट भ्रमणका लागि हालसम्म भएको तयारी बारे जानकारी दिइएको थियो भने सहभागी नेता एवं विज्ञहरूले लामो समयपछि चिनियाँ राष्ट्रपतिस्तरबाट हुन लागेको भ्रमणलाई ऐतिहासिक र सफल हुने अपेक्षा व्यक्त गर्दै मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धिसम्झौता गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रहीआएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै केरुङ–काठमाडौँ रेलमार्ग निमार्णको लगानीको ढाँचाबारे समेत छलफल गरिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्ने तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिने बताउनुभयो । प्रधानमन्त्री ओलीले विदेश मामिलामा नेपालको नीतिमा अहिले सबैभन्दा स्पष्टता भएको पनि वताउनुभयो ।

छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चिनिया राष्ट्रपतिको नेपाल भ्रमण नेपालका लागि महत्वपूर्ण अवसर भएको वताउँदै भ्रमण सफलताको कामना गर्नुभएको थियो । छलफलमा काँग्रेस सभापति देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू