अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

चितवनमा वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति

बिआरटीनेपाल २०७६ असोज २२ गते ८:३४ मा प्रकाशित

चितवनमा बाला झुलेर पाक्न लागेको धानमा मंगलबार बेलुका आएको वर्षा र हावाहुरीका कारण क्षति पुगेको छ । जिल्लाका अधिकांश क्षेत्रमा यसको असर परेपनि मुख्यतयाः धानको पकड क्षेत्र पूर्वी चितवनमा धानको बोट र बाला हावाहुरी र वर्षाले झारेको छ । सबैजसो किसान दसैंको टीकाको दिनमा व्यस्त भए पनि भोलिपल्ट धानबारीमा गएर हेर्दा अधिकांश धानका बोट काम नै नलाग्ने गरी ढलेको उनीहरुको भनाई छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर १ देखि ६ वडामा बाला झुलेको धानबालीमा हावा र वर्षाका कारण बोट र बाला झरेको स्थानीय कृषक धर्मराज कँडेलले बताउनुभयो । उहाँको जस्तै अन्य किसानको पाक्न लागेको धानमा क्षति पुगेको छ । राप्ती नगरपालिका वडा नम्बर ६ का दिपक त्रिपाठीको पनि एउटा धान ठाडो छैन । राप्ती नगरपालिका लगायत रत्ननगर नगरपालिकाका अधिकांश झुल्न लागेका धानमा हावाहुरी धान ढलाएर सोत्तर पारेको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर ६ का किसान होमनाथ सापकोटा भन्नुहुन्छ , “रातभर जाग्राम भएर गैंडाको मुखबाट जोगाएको धान क्षणभरमै हावाहुरीले सखाप पार्यो ।” यसभन्दा अघि अविरल बर्षाले धानमा केही क्षति नभए पनि मंगलबार बेलुका हावाहुरी र घनघोर वर्षाका कारण धान काम नलाग्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।

पूर्वी चितवनमा भन्दा पश्चिम चितवनमा केही ढिला धान रोप्ने गरिएकोले त्यस्तो क्षति नभएको भरतपुर महानगरपालिका वडा नम्बर २२ का चित्रसेन अधिकारी बताउनुहुन्छ । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लामा गरिमा, गोरखनाथ, युएस ३१२ जातका आयातीत हाइब्रिड र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावा मन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् । गत वर्ष धान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षे धान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू