अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

राष्ट्रपति भण्डारीबाट शुभसाइतमा विजयादशमीको टीका ग्रहण

बिआरटीनेपाल २०७६ असोज २२ गते ६:२४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मंगलबार बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक नवदुर्गाभवानीको टीका ग्रहण गर्नुभएको हो ।

उहाँले हनुमानढोका दरबारका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालबाट टीका, प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गर्नुभयो । स्वस्तिवाचनसहित मूल पुरोहित र अन्य पुरोहितहरुले आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी स्थापना गरिएको पूर्ण कलशको जलले राष्ट्रपतिमा अभिषेक गरेका थिए ।

शास्त्रोक्त विधिपूर्वक प्रतिपदाका दिनदेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा–अर्चना तथा सप्तसती पाठ गरिएको हनुमानढोका दसैंघरबाट पूर्ण कलशको जल, जमरा, तिलक र रक्षासूत्र ल्याइएको थियो ।

राष्ट्रपति भण्डारीले मूल पुरोहित, राष्ट्रपति कार्यालयका पुरोहित र अन्य ब्राह्मणलाई टीका, जमरा र दक्षिणा प्रदान गरिन् । त्यसअघि, राष्ट्रपतिले दीप, कलश र गणेशको पूजा गर्नुभएको थियो । राष्ट्रपति भवन शीतल निवासको प्रेक्षालयमा टीका लगाइरहँदा नेपाली सेनाको एक टोलीले मंगलधुन बजाएको थियो । मंगलबारै राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेबाट पनि टीका, जमरा र प्रसाद ग्रहण गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू