अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

प्रधानमन्त्रीद्वारा दशैंको टीका-जमरा ग्रहण

बिआरटीनेपाल २०७६ असोज २२ गते ६:२४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको दशैंको टीका शुभ-साइत भन्दा केही ढिला गरी पिताको हातबाट लगाउनुभएको छ । पिता मोहनप्रसाद ओली गृहजिल्ला झापाबाट आउन ढिला भएका कारण प्रधानमन्त्रीले शुभ-साइतमा टीका लगाउन नपाउनुभएको हो । टीकाको शुभसाइत बिहान १०. ३५मा रहे पनि झापाबाट जहाजको उडान ढिलो भएकोले प्रधानमन्त्रीले दिउँसो साढे दुई बजेतिर पिताको हातबाट दशैंका टीका ग्रहण गर्नुभयो ।

यसअघि प्रधानमन्त्रीले शुभसाइतमै बुबाको हातबाट टीका लगाउने कार्यक्रम तय भएको थियो। प्रधानमन्त्री ओलीका पिताले ओली र उहाँकी धर्मपत्नी राधिका शाक्यलाई धार्मिक विधिपूर्वक टीका, जमरा तथा प्रसाद प्रदान गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले धर्म पत्नी राधिकालाई टीका र जमरा लगाइदिनुभएको थियो । बुबा आउन ढिला भएपछि प्रधानमन्त्रीले निर्धारित कार्यतालिकाअनुसार यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका ग्रहण गर्नुभएको थियो ।

प्रधानमन्त्री ओली राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति भण्डारीबाट दशैंको टीका ग्रहण गर्नुभएको थियो  । प्रधानमन्त्रीले मन्त्रीसहित विशिष्ट तथा विभिन्न पार्टीका नेतालाई टीका लगाईदिनुभएको उहाँको सचिवालयले जनाएको छ। पार्टीका कार्यकर्ता तथा सर्वसाधरणलाई अपराह्न ४ बजेदेखि बेलुका सात बजेसम्मको समय तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू