अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

प्रहरी हिरासतमा रहेका पुर्व सभामुख महराको स्वास्थ्यमा समस्याः उच्चरक्तचाप र अक्सिजनको कमी

बिआरटीनेपाल २०७६ असोज २० गते ०:१३ मा प्रकाशित

सोमबार साँझ पक्राउ परि हिरासतमा लिइएका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएको छ। पक्राउ लगत्तै महराको वीर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार महरामा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको छ।

‘पक्राउ पछि उहाँको स्वास्थ्य परीक्षण गरिएको हो, स्वास्थ्य परिक्षण गर्दा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको छ, सुवेदीले भन्नुभयो, ’उहाँले पहिले देखि नै उच्च रक्तचापको औषधी पनि खाने गरिरहनु भएको रैछ।’ सुवेदीले महराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुने जानकारी दिनुभयो । अदालत २८ गते मात्र खुल्नेछ। अदालत खुलेसँगै म्याद थपको अनुमति लिइने जनाइएको छ। त्यसपछि दुवै पक्षलाई सरकारी वकिलको कार्यालयबाट बयान लिने काम हुने सुवेदीको भनाई छ । उक्त मुद्दा काठमाडौं प्रहरी परिसर, टेकुबाटै चल्ने सुवेदीले बताउनुभयो ।

अदालतको दशैं विदा २६ गतेसम्म छ। तर पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा विदा दिइएको छ। महराको दशैं काठमाडौंको अनामनगरस्थित महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा नै बित्नेछ।

बलात्कार प्रयाशको आरोपमापक्राउ परेका महरालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– १८ करणी सम्बन्धी कसुरमा उक्त मुद्दा चल्ने देखिएको छ। सो परिच्छेदको दफा २१९ मा ‘जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी’ सजाय तोकिनेछ। सो दफाको उपदफा २ (ङ) मा ‘१८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म’ सजाय हुने व्यवस्था छ। उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने’ भनिएको छ। महराले संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीले बलात्कार प्रयास गरेको उजुरी प्रहरीमा दिएपछि उनलाई पक्राउ गरिएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू