अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

आज नवरात्रको अन्तिम दिन महानवमी पर्व – दुर्गा भवानीको पूजा आराधना गरी बलि दिइदैं

बिआरटीनेपाल २०७६ असोज १९ गते १९:२६ मा प्रकाशित

आज वडा दसैं अन्तरगत नवरात्रको अन्तिम दिन अर्थात महानवमी पर्व । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व सोमबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद् देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।

पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइएको छ ।

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आज खुलेको छ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले त्यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लागेको छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन्।

नेपाली समाजमा भव्यताका साथ मनाइंने महान् पर्व बडा दशैंको नवौं दिन आश्विनशुक्ल नवमी तिथिमा देवी भवानी महागौरीको पूजाआराधना गरिन्छ । माता महागौरीलाई सत्य र साँस्कृतिक शुद्धिको प्रतीक मानिन्छ । उनी सबै दुर्गति नाश गरेर जगतमा शान्ति स्थापना गर्न प्रकट भएकी हुन् । माता महागौरी सेतो साढेमा आरुढ भएकी छन् । उनले वदनमा कुनै दाग नभएको शुद्ध सफा सेता वस्त्र धारण गरेकी छन् । माता महागौरीले सदाशिवलाई समेत अनन्त अक्षत आशिर्वाद दिइरहेकी हुन्छिन् ।

महागौरीलाई पार्वतीको सोह्रवर्षे षोडषी वा अविवाहिताको रुपमा चित्रण गरिएको छ । नवमीका दिन घरघरमा नवकुमारी कुमारिका, त्रिमूर्ति,कल्याणी, रोहिणी, काली,चण्डिका, शाम्भवी, दुर्गा र सुभद्राका रुपमा कन्याहरुको पूजा गरिन्छ । नौ कन्यालाई नवकुमारी मानेर पूजा गर्ने परम्परा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू