अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन आगामी साता

बिआरटीनेपाल २०७६ असोज १९ गते ५:२५ मा प्रकाशित

दोस्रो अन्तर्राष्ट्रिय मगर सम्मेलन आगामी साता काठमाडौंमा हुने भएको छ । सम्मेलन असोज २६ र २७ गते हुने नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले जानकारी दिएका छन् । भृकुटीमण्डप स्थित पुलिस क्लवको सभाहलमा हुने सम्मेलनको औपचारिक उद्घाटन असोज २७ गते उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् ।

सम्मेलनमा भारत, भुटान, बर्मा, थाइल्याण्ड, अमेरिका, बेलायत, बेल्जियम, जापान, कोरिया, मलेसिया, हङकङ, क्यानडा, कतार, साउदी अरब, युएई, बहराइन, ओमन, कुवेत, मकाउ, सिंगापुर, अस्ट्रेलिया, अस्ट्रिया, प्रोचुगल, स्पेन गरेर २७ का करिब पाँच सयजना प्रतिनिधि सहभागी हुने मगर संघले जनाएको छ ।

सम्मेलनमा मगरहरु समुदायको भाषा, धर्म, संस्कार–संस्कृति, भेषभुषा, ऐतिहासिक थातथलो, इतिहास सवालमा छलफल हुने आयोजकले जनाएको छ । मगर समुदायको सामाजिक, आर्थिक, शैक्षिक अवस्था र आ–आफ्नो देशको कानूनअनुसार राजनीतिक अधिकारको बारेमा
समेत छलफल हुने मगर संघले जनाएको छ ।

नेपाल मगर संघको समन्वयमा हुने सम्मेलनले अन्तर्राष्ट्रिय महासंघको संरचना बनाउने र सोको नेतृत्व चयन गर्ने संघका महाचिव पुनले जानकारी दिए । उनका अनुसार सम्मेलनले काठमाडौं घोषणा पत्र जारी गर्नेछ । सम्मेलन तयारीका लागि विभिन्न समिति सम्मेलनको तयारीका लागि मगर संघका अध्यक्ष नवीन रोकामगरको संयोजकत्वमा मूल आयोजक समिति, महासचिव ज्ञानेन्द्र पुनमगरको संयोजकत्वमा मूल व्यवस्थापन समिति, रक्षबहादुर रैकामगरको संयोजकत्वमा कार्यक्रम संयोजन समिति गठन गरिएको छ ।

यसैगरी कार्यपत्र तयारी समिति, साँस्कृतिक झाँकी उपसमिति, स्वंयमसेवक व्यवस्थापन उपसमिति, मञ्च व्यवस्थापन तथा अतिथि सत्कार उप–समिति, प्रतिनिधि व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, हल व्यव्स्थापन तथा बन्द सत्र व्यस्थापन उपसमिति, र्याली व्यवस्थापन उपसमिति लगायतका समितिहरु गठन गरिएको संघले जनाएको छ ।

सम्मेलनमा हरेक देशबाट एक महिलासहित पाँचजना, मगर संघ केन्द्रीय समिति संरक्षक सल्लाहकार पदाधिकारीहरु, प्रदेश समितिबाट पाँच/पाँचजना, जिल्ला भातृ संस्थाबाट दुई/दुई जना, पार्टी सम्बद्ध मगर मोर्चाका संगठनहरुबाट तीन/तीन जना गरेर पाँचसय जनाको सहभागीता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा प्रा.डा. केशरजंग बरालमगर, बमकुमारी बुढामगर, डा. गोबिन्द थापामगर, सुरेश आलेमगर, डा. श्यामु थापामगर, डा. मिन श्रीसमगर, झकेन्द्र घर्तीमगर, भोजबिक्रम बुढामगर, लालबहादुर पुनमगर लगायतले विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन् । प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलन दुईवर्ष अघि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू