अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

स्पेनिस लिग ला लिगा- रियलले ग्रानडालाई ४–२ ले हरायो, बुन्डेसलिगामा बायर्न पराजित

बिआरटीनेपाल २०७६ असोज १८ गते २०:४० मा प्रकाशित

स्पेनिस लिग ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको रियल मड्रिडले विजयी यात्रालाई निरन्तरता दिएको छ । शनिबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–२ ले पराजित गर्‍यो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रिगेजले एक/एक गोल गरे । ग्रानडाका डार्विन माचिस र डोमिन्गोस दुआरटेले एक/एक गोल फर्काए । रियलका लागि खेलको दोस्रो मिनेटमै बेन्जिमा, पहिलो हाफको ‘इन्जुरी’ समयमा हजार्ड, ६१औं मिनेटमा मोड्रिच र खेलको अन्तिम समयमा रोड्रिगेजले गोल गरेका हुन् ।

ग्रानडाका डार्विनले ६९औं मिनेटमा पेनाल्टीमा र ७७औं मिनेटमा डोमिन्गोसले गोल फर्काएका थिए । जितसँगै रियलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । रियलले ८ खेलबाट १८ अंक जोडेको छ । पराजित ग्रानडा ८ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा छ ।ला लिगाअन्तर्गत् नै अर्को खेलमा लेभान्टेले लेगानेसलाई २–१ ले हराएको छ ।

बायर्न म्युनिख पराजित

उता, जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति नै भएको खेलमा बार्यन घरेलु मैदानमा होफेनहाइमसँग २–१ ले पराजित भएको हो ।

हारपछि पनि बायर्न ७ खेलबाट १४ अंकसहित लिगको शीर्ष स्थानमा कायमै छ । होफेनहाइम ८ अंकसहित ११औं स्थानमा छ ।

प्रतिक्रिया