अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५३ | Colorodo: 07:08

दसैंमा पढ्नैपर्ने १० पुस्तक

बिआरटीनेपाल २०७६ असोज १७ गते २३:३७ मा प्रकाशित

वर्तमान सरकारले विदेशबाट किताब आयात गर्दा कर लगाएका कारण नेपालका किताब पसलहरुमा विदेशी पुस्तकहरुको अभाव भएपनि नेपालका प्रकाशकहरुले हप्तैपिच्छे विभिन्न नयाँ पुस्तकहरु सार्वजनिक गरिरहेका छन्।

आउँदै गरेको दसैं, तिहार लच्छित गरेर प्रकाशकहरुले विभिन्न विधाका पुस्तकहरु बजारमा ल्याएका छन्। खस्किदै गएको नेपाली पुस्तक बजारमा चाडपर्व लच्छित गरि प्रकाशकहरुले भिन्नभिन्न विधामा पुस्तकहरु सार्वजनिक गर्ने चलन बसालेका छन्।

गत शनिबार मात्र प्रा.डा.सञ्जीव उप्रेतीको ‘हंस’ उपन्यास र वरिष्ठ नेत्र रोग विशेषज्ञ ‘सन्दुक रुइत’का बारेका अली ग्रिपर लिखित खगेन्द्र संग्रौलाले अनुवाद गरेको पुस्तक सार्वजनिक भएको छ। यस्तै प्रसिद्ध कवि, गितकार तथा गायक मञ्जुलको गीति यात्रा संस्मरण ‘सम्झनाका पाइलाहरु’, प्रसिद्ध कवि तथा गीतकार कालीप्रसाद रिजालको ‘काँडामा हाँसेको जिन्दगी’, र ‘वैरागी काइलाका सम्पूर्ण कविता संग्रह’, गायक तथा संगीतकार गणेश रसिकका तीन पुस्तक लगायतका दर्जनौ नयाँ किताब बजारमा सार्वजनिक भएका छन् ।

चाडपर्वको आसपास अन्य उपभोग्य सामाग्रीको अत्याधिक विक्रीवितरण हुने गरेतापनि पुस्तकहरुको खरिदविक्री कमै हुने गरेको पाइन्छ। अधिकांस अभिभावकहरुले आफ्ना छोराछोरीलाई कोर्सका पुस्तक पढ्न प्रेरित गर्ने साथै चाडपर्वको समयमा स्कुल, कलेजले पनि विद्यार्थीहरुलाई अत्याधिक होमवर्क दिने, केही पाठकहरु आन्तरिक तथा बाह्य भम्रणमा निस्कने जस्ता कारणले पनि पुस्तक खरिदविक्रीमा चाडपर्वताका धेरै चाप पर्दैन। तरपनि नेपाली पुस्तक बजारमा नयाँनयाँ विधाका पुस्तकहरु प्रकाशकले ल्याउने र कतिपय पुस्तकहरु पाठकहरुले खोजिखोजि पढ्ने गरेका छन्।

पछिल्ला केही बर्षहरुमा नेपाली भाषाका पुस्तकहरु पढ्ने पाठकहरु वृद्धि भइरहेका छन्, साथै प्रकाशकको पनि सङ्ख्या बढ्दो गतिमा छ।
यसपालीको दशैंमा पढ्नैपर्ने १० पुस्तक

१) हंस
गत शनिबार सार्वजनिक भएको यो उपन्यास सञ्जीव उप्रेतीको दोस्रो उपन्यास हो। ब्राउन युनिभर्सिटी अमेरिकाबाट विद्यावारिधी गरेका उप्रेतीले लामो समय त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्यको अध्यापन गरेका थिए। उनले लेखेका यसअघिका ‘घनचक्कर’, ‘सिद्धान्तका कुरा’ र ‘अर्कै मकैको खेति’ पुस्तक पाठकहरुले अत्याधिक मन पराएका थिए। ‘हंस’ उपन्यास उनले पंक्षीको वार्तालाप, प्रकृती र मानव प्रेमको बारेमा मिहिन अनुसन्धान गरेर लेखेका छन्। पुस्तकमा प्रकृती र मानवको अनन्य सम्बन्धका बारेमा चर्चा गरिएको छ। साथै पाठकलाई यस उपन्यासले प्रकृती र प्राणीको अस्तित्व स्विकार गर्दै, प्रकृति र प्राणी जगतका बारेको सम्बन्धको महत्व दर्शाएको छ। पुस्तक प्रेमी पाठकहरुका लागि यो पुस्तक एउटा आनन्दमय खुराक बन्न सक्दछ।

२) सन्दुक रुइत
वरिष्ठ आखाँ सर्जन डा. सन्दुक रुइतका बारेमा अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको पुस्तक नेपाली भाषामा खगेन्द्र संग्रौलाले अनुवाद गरेका हुन्। ज्योति गुमाएका लाखौं मानिसलाई संसार देखाएर चर्चा कमाएका रुइतको यो पुस्तक करिएर बनाउँदै गरेका युवाहरुका लागि प्रेरणदायी बन्न सक्दछ। किताब लेखनकै क्रममा ग्रिपरले रुइतसँग करिब तीन बर्ष सँगै काम गरेकी थिइन्।

दुर्गम हिमाली गाउँमा जन्मिएर अनेक सङ्घर्ष गर्दै आफ्नो अध्ययन पुरा गरेका रुइतले आफूलाई आँखा उपचारमा विश्वकै अब्वल विशषज्ञको रुपमा स्थापित गर्दाको उतारचढावका बारेमा ग्रिपरले रुइतको जीवन यात्रा उतारेकी छिन्। हजारांै दृष्टि विहिनहरुलाई ज्योति प्रदान गरेका नेत्र चिकित्सक रुइतको प्रेरणादायी कथा यस पुस्तकमा पढ्न पाइन्छ।

३) त्यस बखतको नेपाल
सरदार भिमबहादुर पाँडेले लेखेको यो पुस्तक पाँच भागमा छ। यस पुस्तकमा पाँडेले राणाकाल अवधीमा भएका सामाजिक, आर्थिक र राजनीतिक इतिहासको बारेमा चर्चा गरेका छन्। राणाकालमा सरकारी सेवामा प्रवेश गरेका पाँडेको यो किताबमा राणाकालको आखिरी तीन दशक भित्रको समयताका भएका राणा व्यवस्था चरमचोटीमा, नेपालमा आर्थिक विकासको कल्पना, नेपालमा प्रजातन्त्रको प्रवेश र नेपालको प्रशानिक जगको बारेमा उल्लेख गरेका छन्।

यस पुस्तकबाट पाठकले सती प्रथा, दास प्रथा लगाएत राणाकालका सुधार, त्यस बेलाको नेपाली समाजको चेतनाको स्तर तथा राणाहरुले सत्ता टिकाउन गरेका अनेक प्रयत्नको बेलिविस्तारका बारेमा जानकारी पाउन सक्छन्।

४) द्रोपदी देश
विमल भौकाजीले लेखेको यो पुस्तकमा अनेक विम्ब प्रयोग गरेर नेपाली समाज भित्र लुकेका विसङ्गतीका बारेमा व्यङ्ग्यात्मक चित्रण गरिएको छ। देश राजनीतिबाट प्रदुषित हुनुका कारणहरुलाई भिन्नभिन्न अलङ्कार प्रयोग गरेर भौकाजीले नेपाली समाजका मुकुन्डाधारी पात्रहरुको चरित्रलाई यथार्थ रुपमा प्रस्तुत गरेका छन्।

यो पुस्तक पढ्दा आफैंले भोगेका सामाजिक समस्याहरु कसरी निर्माण गरिदाँ रहेछन् र शासकहरुले जनतालाई कसरी गुमराहमा राख्ने गरेका छन् भन्ने बुझिन्छ। देश, समाज र राजनीतिको लथालिङ्ग परिस्थितीका बारेमा भौकाजीले यो पुस्तकमा सामाजिक वेथितिका बारेमा यथार्थ चित्रण गरेका छन्।

५) फातसुङ
छुदेन काविमोले लेखेको यो आख्यान दार्जिलिङका निम्ति लड्ने युवाहरुको कथा व्यथा हो। यस पुस्तकमा अरुलाई क्रान्तिकारी तथा सामाजिक परिर्वतनको सपना देखाउने तर पदमा पुगेपछी लक्ष्य बिर्सने नेतृत्वको कथा छ। दार्जि्लिङका युवाहरुको सपना, उनीहरुको सामाजिक इतिहास, संस्कृती र परम्पराहरुको अगाध प्रेम तथा सम्मान यो कथामा संग्रहमा पढ्न पाइन्छ।

एक युवाको सपना, उसको लक्ष्य र उसले आइडल मानेको व्यक्तिबाट नसोचेको परिणाम पाउँदाको कथा यस किताबमा छन्। पद नपाउँदाको सङ्घर्ष र पदमा पुगेपछि आफ्नो अतित बिर्सने नेतृत्व, उद्देश्यमा हुने विचलनको यात्रा र दार्जि्लिङका मौलिकताको कथा यस पुस्तकमा पढ्न पाइन्छ।

६) विमान विद्रोह
यो पुस्तक एउटा राजनीतिक व्यकक्तिले क्रन्तिको समयमा गरेको विमान अपहरण र त्यसपछिका दिनहरुका भोगाईको वर्णन हो । यस पुस्तकमा प्रजातान्त्रिक आन्दोलनका एक योद्धा तथा तत्कालिन प्रतिबन्धीत काङ्ग्रेसका विद्यार्थी नेता दुर्गा सुवेदीको अनुभव छ। युवा उमेरको जोस, राजनीतिको चाख, साहसिक कार्य, पार्टी प्रतिको लगाव, पार्टीको लक्ष्य र नेतृत्वको सम्मानका बारेमा सुवेदीले तत्कालीन अवस्थामा भोगेका अनुभवहरु यो पुस्तकमा उतारेका छन्।

पञ्चायती शासन विरुद्ध नेपाली काङ्ग्रेसले गरेको सशस्त्र आन्दोलनलाई आर्थिक सहयोग गर्नका लागि नेतृत्वको आदेशमा बिराटनगरदेखि काठमाडौं आउँदै गरेको विमान अपहरण गर्दा र त्यसपछिका जेल जीवन लगायतका सङ्घर्षका दिनहरुको बेलिबिस्तार यो किताबमा पढ्न पाइन्छ।

विमान अपहरण भएपछि भएका राजनीतिक परिवर्तन र आन्दोलनमा लागेका तर अवसर आउँदा किनारामा परेका सुवेदीको जीवन यात्रासँगै काङ्ग्रेस पार्टीको सङ्घर्षको बारेमा सुवेदीले आफ्नो अनुभव यो पुस्तकमा उतारेका छन्।

७) शिलान्यास
नेपाल एकीकरण थालनी ताकाको नेपालको आर्थिक, सामाजिक र त्यस समयको नेपाली समाजको चरित्रका बारेमा सुजित मैनालीका विमर्श यो पुस्तकमा पढ्न पाइन्छ। नेपालको इतिहासलाई आ–आफ्नो ढंगले ब्याख्या विश्लेषण गरिरहेको वर्तमान समयमा यो खोजमुलक सामाग्रीले पाठकलाई नेपालको एकीकरण, त्यस बखत भिन्नभिन्न राज्यमा फैलिएर बसेका विभिन्न समुदायहरुको चित्रण गराउँछ। नेपालको हिन्दुस्थान र चीनसँगको सम्बन्ध, तत्कालिन बाइसे–चौवीसे राज्यको एक अर्का प्रतिको सम्बन्ध, तत्कालिन राजाहरुको चेतनशिल परिस्थिती, संस्कृति, रितिरिवाज, धर्म–परम्परा लगायत मैनालीले यो पुस्तकमा नेपाल निर्माणको बारेमा वेलीबिस्तार गरेका छन्।

८) लोकतन्त्र र आजको मार्क्सवाद
यो किताब समाजशास्त्री चैतन्य मिश्रले विभिन्न चरणमा लेखेका लेख र मन्तव्यहरुको सँगालो हो। राजेन्द्र महर्जनले सम्पादन गरेको यो पुस्तकमा नेपालको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरणमा देखिएका स्वरुपहरुलाई चित्रण गरिएको छ। कुनै पनि परिर्वतन तथा आन्दोलनहरु त्यत्तिकै स्वतःस्फूर्त वा दैवी कारणले नभइ विभिन्न सांस्कृतिक, आर्थिक र राजनीतिक कारण हुन्छ भन्ने धारणा मिश्रले यस पुस्तक मार्फत राखेका छन्।

प्रजातन्त्रको उदय, लोकतन्त्र, गणतन्त्र, दलतन्त्र, समाजवाद, माओवाद, आजको माक्र्सवाद र यसको संकट साथै समाज परिवर्तनका क्रममा देखा परेका विभिन्न परिस्थितीहरुको विश्लेषण यो पुस्तकमा गरिएको छ। विश्वमा भएका विभिन्न आन्दोलन र नेपालमा भएका राजनीतिक परिवर्तनलाई यो पुस्तकमा मिश्रले मिहिन चिरफार गरेका छन्। भिन्नभिन्न खालका लेखले पाठकलाई नेपाली समाजको समाजशास्त्रीय विश्लेषणको जानकारी प्राप्त गर्न सक्दछन्।

९) ब्रिटिस साम्राज्यका नेपाली मोहरा
यो पुस्तक नेपालको एकीकरणदेखी नेपाल–अङग्रेज युद्ध र नेपाली युवाहरुको लाउरे जीवनको बारेका झलक सुवेदीले लेखेको गोर्खा भर्तीको नालीबेली हो। यस पुस्तकमा गोर्खा सैनीकका रुपमा ब्रिटिस सेनामा नेपालीको प्रवेश, प्रथम–द्वितिय विश्व युद्धमा गोर्खा सैनिकले चुमेको सफलता, वेलायती सेनामा गोर्खाहरु माथि हुने गरेको विभेद, युवाहरुको पलायन पछि नेपाली लाउरे बस्तीहरुमा देखा परेका सामाजिक समस्या लगायतका बिषयमा गहन विश्लेषण गरिएको छ।

गोर्खा सैनिकको परिवारको यथार्थ चित्रण, धन आर्जनका नाममा ज्यानको बाजी राखि मुगलान पसेका लाउरे समाजको कथा यस पुस्तकमा समेटिएको छ। यो पुस्तक गोर्खा लाउरेहरुको सामाजिक इतिहास हो, यस पुस्तकबाट पाठकले नेपालहरुको बहादुरी, लाउरेहरुको काम प्रतिको लगाव र देशका युवालाई बिदेशी सेनामा भर्ती गराएर त्यस बखतका नेपाली शासकहरुले सत्ता टिकाउन र रोयल्टी बुझ्नका लागि आफ्ना नागरिकलाई कुन हदसम्म प्रयोग गरेका थिए भन्ने बारेमा जानकारी प्राप्त गर्दछन्।
बाहिरबाट हेर्दा सुन्दर देखिने लाउरे जीवनको भित्री कथा बुझ्न र अनुभव गर्नेका लागि यो किताब उपयुक्त रहेको छ।

१०) अभिजित
अभिजित विप्लव प्रतिकले लेखेको उपन्यास हो। अभिजित पात्रको माध्यमबाट प्रतिकले आफ्नै जीवन भोगाइ यस पुस्तकमा उतारेका छन्। यो संसारमा मानिसका जीवन पद्धति भिन्नभिन्न हुन्छ, हरेक मानिसका अलगअलग जीवन भोगाइ मध्ये प्रतिकले उपन्यासको माध्यमबाट आफूले अनुभव गरेको जीवनका कालखण्डलाई उपन्यास मार्फत अभिव्यक्त गरेका छन्। समाजमा लुकेका र समाजले देख्न नसकेको मानिसको पिडा, उसको चाहना र आर्थिक, सामाजिक तथा पारिवारीक परिस्थितीले मानिसलाई पार्ने मनोविज्ञान यो पुस्तकमा पढ्न पाइन्छ।

एउटा व्यक्तिको राजनीतिमा संङ्लग्नता, अभिभावकको निधन, आमाको चालचलन, सामाजिक परिस्थिती, उसको उतारचढावको जीवन भोगाइका बारेमा पाठकले यस उपन्यासबाट एउटा भिन्न पाठकीय स्वाद लिन सक्दछन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू