अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

आज बडादशैंको सातौं दिन – घरघरमा फूलपाती भित्र्याईयो, कालरात्रीको पुजा आराधना गरिदैं

बिआरटीनेपाल २०७६ असोज १७ गते २२:५२ मा प्रकाशित

आज बडादशैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरुको परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याईएको छ । सप्तमीका दिन सबै नेपालीका घरघरमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती र अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक फूलपाती भित्र्याइन्छ ।

आजकै दिन हनुमानढोकास्थित दशैंघरमा पूजारीसहित फूलपाती ल्याउने र भित्र्याउने चलन छ । फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म मगर जातिका ६ जना र त्यहाँबाट काठमाडौंको जमलसम्म ६ जना ब्राह्मणले लैजाने चलन छ ।

फूलपाती भित्रयाउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र साँस्कृतिक नाचगान सहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्ने गर्छ ।

आज कालरात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ । धर्मशास्त्रअनुसार कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत् जस्तै चम्किने माला लगाएकी छिन्। तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छिन्। त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ। चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छिन्। स्वरूप डरलाग्दो भए पनि कालरात्रिले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ।

महासप्तमीका दिन विद्याकी अधिष्ठात्री महासरस्वतीको विशेष पूजा गरिन्छ। यस्तै भद्रकालीको आराधना पनि गरिन्छ। विभिन्न शक्तिपीठहरूमा पशुबलिसहितको पूजा पनि चल्छ। शक्तिपीठ तथा जमरा राखिएका दशैँघरमा महासप्तमीको बिहान वा दिउँसोको शुभसाइतमा नवपत्रिका भित्र्याइन्छ। यसलाई बोलीचालीमा फूलपाती भनिन्छ।

सघटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुन्छ । फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जानेक्रम शुरु हुन्छ ।

घटस्थापनाका दिनदेखि दशैं शुरु हुने भएपनि दशैंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि सुरु हुने गर्दछ । फूलपातीदेखि पूर्णिमासम्म सरकारी कार्यालय पनि बन्द हुने भएकाले घरबाट टाढा रहेका व्यक्तिहरु मूलघरमा दुर्गा भवानीको टीका थाप्न जाने क्रम समेत आजबाट शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू